वीरगन्ज । तराई क्षेत्रमा अत्यधिक गर्मी बढेपछि फेरि अधिकांश चापाकल सुक्न थालेका छन्। पर्सा लगायत आसपासका जिल्लाहरुका अधिकांश ठाउँमा पानीको सतह कम हुँदै गएकाले समस्या भइरहेको भन्दै सर्वसाधारणले पानी व्यवस्थापनका लागि स्थानीय, प्रदेश तथा संघ सरकारलाई गुहार गरिरहेका छन् ।
वीरगन्ज महानगरपालिकाका ग्रामीण वडाहरुमा चापाकलबाट पानी आउन कम भएको र शहरी वडाहरुमा बिहान र बेलुका मात्रै पानी आएपनि थोरै मात्रामा आउँदा जनजीवन प्रभावित भएको छ ।
बढ्दै गएको गर्मी र पानी नपरेका कारण सय फिटसम्म गहिराइ रहेका अधिकांश चापाकल सुक्नुका साथै नदी, पोखरीको पानी सुकेकाले गाई, भैँसीलाई समेत पानी खान समस्या हुँदै आएको छ ।
मौसमी वर्षाबाहेक अन्य समयमा अकासे पानी नपर्दा यसरी पानीको मुहान सुक्नुका साथै चापाकल, नदी र तलाउमा पानी कम हुन जान्छ, पानी परेपछि सुकेका सबै ठाउँमा फेरि पहिलाकै जस्तो पानी आउन सुरु हुने विज्ञहरू बताउनु हुन्छ।






