Categories समाचार

दरबन्दी अनुसारको स्वास्थ्यकर्मी अभावमा भएपछि जनशक्ति थप्दै नारायणी अस्पताल

Advertisement

वीरगन्ज । दरबन्दी अनुसारको स्वास्थ्यकर्मी अभावमा सेवा प्रभावित हुन लागेपछि नारायणी अस्पतालले करारमा जनशक्ति थप गर्न लागेको छ ।

अस्पतालले गएको असार १४ गते नवौँ तहको अधिकृतदेखि विभिन्न पदमा ३३ जना जनशक्ति आवश्यक रहेको भन्दै सूचना जारी गरेर भर्ना प्रकृया अघि बढाएको हो ।

Advertisement

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ड एनामुल हकले जनशक्ति अभावमा सेवा प्रवाह गर्न कठिनाई भएकाले करारमा जनशक्ति थप गर्न लागिएको बताए ।

Advertisement

आफू भन्दा अघिको नेतृत्वले जथाभावी स्वास्थ्यकर्मी राख्दा अस्पताललाई नै आर्थिक भार परेको भन्दै उनले कार्यभार सम्हालेको केही समयमै ४७ जनालाई हटाएका थिए । दैनिक ज्यालादारीमा राख्दा अस्पताललाई आर्थिक भार परेकाले ४७ जनालाई हटाएर अस्पताललाई आर्थिक भार हुन नदिन अब दरबन्दी अनुरुपको कर्मचारी मात्रै करारमा भर्ना गर्न लागिएको उनले स्पष्ट पारे ।

दरबन्दी रिक्त रहेको र अस्पतालको आवश्यकता समेत रहेकाले आफूहरुले चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७६ अनुसार नै जनशक्ति सेवा करारमा लिन लागेको उनले बताए ।

अस्पतालले कार्यविधिको दफा ५ को ४ बमोजिम जनशक्ति नियुक्त गर्ने प्रकृया अघि बढाएको हो । यो प्रकृया अनुसार जनशक्ति भर्ना गर्दा लिखित वा मौखिक, वा दुबै परीक्षाको माध्यमबाट उम्मेदवार छनौट गर्न सक्ने प्रावधान रहेको छ । निमित्त मेसु हक भन्छन्, ‘यथाशिघ्र जनशक्ति नथपिए अस्पतालले प्रवाह गर्ने विभिन्न सेवा नै अवरुद्ध हुने अवस्था देखिएकाले हामीले मौखिक परीक्षाको माध्यमबाट जनशक्ति भर्ना गर्न लागेका हौँ ।’

अस्पतालबाट अहिले बहिरंग सेवा, इमर्जेन्सी, प्रसुती, सर्जिकल, हेमोडाइलासिस, आइसीयू, भिडियो एक्सरे लगायत विभिन्न सेवा प्रवाह भइ रहेको छ ।

मेसुमा नियुक्त हुनासाथ एनामुल हकले अस्पताल सुधारका लागि प्रयास गरेका छन् । उनले मेसु सम्हाले लगत्तै टिकट काउन्टरको संख्या बढाए भने, काउन्टरमा गर्मी भएको गुनासो आउना साथ ‘एसी’ जडान गरेर बिरामीलाई सहज बनाउने काम गरिदिए ।

काउन्टरसँगै बहिरंग सेवा (ओ.पि.डी.) मा पनि एसी जडान गरिएको छ । डा. हकको यो कदमले गर्मीको समयमा राहतको महसुस भएको सेवाग्राहीले बताउँछन् ।

यस्तै बेडको पनि मर्मतसम्भार गरिएको छ भने आवश्यक अनुसार थप्ने प्रक्रिाय पनि भइरहेको छ । अस्पतालको सेवाप्रवाहलाई व्यवस्थित बनाउने कार्य आफ्नो प्रमुख प्राथमिकतामा रहेको मेसु डा.हकले बताए ।

उनका अनुसार पहिलो चरणमा अस्पतालको बाह्य र आन्तरिक सरसफाईमा व्यापक सुधार गरिएको छ । बाहिरी र भित्री रुपमा सरसफाई गर्ने काम जारी छ । यस्तै शौचालय, नाला, बेड, ओपिडी लगायतमा व्यवस्थापन गर्ने काममा लागेकाे उनले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *