Categories समाचार

नवनियुक्त खानेपानी मन्त्री यादवले गरे पदभार ग्रहण

Advertisement

वीरगञ्ज। सोमबार नवनियुक्त खानेपानी मन्त्री प्रदीप यादवले मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहण गर्नुअघि शीतल निवासमा आयोजित समारोहमा उहाँले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो।

पदभार ग्रहण गरेपछि मन्त्री यादवले मन्त्रालयका सचिव स्तरीय निर्णयअनुसार ७ सदस्यीय सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समितिको प्रतिवेदनलाई मन्त्रिपरिषद्मा स्वीकृतिका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने निर्णय गर्नुभएको छ।

Advertisement

मन्त्री यादवले आफ्नो प्राथमिकता सबै नेपाली नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नु रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “आधुनिक प्रविधिको प्रयोगद्वारा खानेपानी वितरण प्रणालीलाई सुधार गर्ने र मन्त्रालयका सम्पूर्ण कामकारबाहीलाई पारदर्शी र उत्तरदायी बनाउन म प्रतिबद्ध छु।”

Advertisement

उहाँले स्थानीय तहहरूसँग सहकार्य गर्दै खानेपानी व्यवस्थापनमा सक्रिय सहभागिता सुनिश्चित गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो।

मन्त्री यादवले आफूलाई खानेपानी मन्त्रीको जिम्मेवारी दिएर विश्वास गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार प्रकट गर्दै भन्नुभयो, “यस महत्त्वपूर्ण जिम्मेवारीलाई प्रभावकारी रूपमा सम्पादन गर्न तपाईँको मार्गदर्शन र समर्थनले सम्पूर्ण प्रयास गर्ने वाचा गर्दछु।”

यादवले जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार राईलगायत सबै पदाधिकारीहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दै भन्नुभयो, “तपाईँहरूको नेतृत्व र प्रेरणाले मलाई अझ बढी समर्पित र उत्साहित बनाएको छ।”

उहाँले आफ्नो निर्वाचन क्षेत्र पर्सा – १ का सम्पूर्ण जनता, परिवारका सदस्यहरू, र सम्पूर्ण शुभचिन्तकहरूप्रति आभार प्रकट गर्दै भन्नुभयो, “तपाईँहरूको समर्थन र विश्वासले नै आज म यो स्थानमा पुगेको छु।”

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *