Categories रासस

वीरगन्ज नाकाबाट मोटरसाइकल आयातमा उल्लेख्य वृद्धि

पर्सा । देशकै प्रमुख व्यापारिक नाका वीरगन्जबाट मोटरसाइकल आयातमा उल्लेख्य वृद्धि भएको छ । सो नाका प्रयोग गरी जिप र कारको आयातमा भने कमी आएको छ । 

गत आर्थिक वर्ष २०८०-८१ को साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा जिप र कारको आयातमा ४० प्रतिशतले कमी आएको छ । सो अवधिमा मोटरसाइकलको आयात सत् प्रतिशतले बढेको छ । 

Advertisement

गत आर्थिक वर्षको साउन महिनामा वीरगन्ज नाकाबाट रु ४६ करोड ७७ लाखका तीन हजार पाँच सय ७१ थान मोटरसाइकल आयात भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिनुभयो । चालु आवको साउनमा भने रु ९४ करोड ४८ लाखका सात हजार एक सय ५० थान मोटरसाइकल आयात भएका थिए ।  

Advertisement

वीरगन्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको साउन महिनामा रु २० करोड ६० लाखका एक सय २७ थान जिप र कार आयात भएका थिए भने चालु आवको सोही अवधिमा रु १४ करोड ४४ लाखको ७६ थान मात्र जिप र कार आयात गरिएको छ । भारत तथा तेस्रो मुलुकबाट पार्टपुर्जा भित्र्याइए नेपालमै पेट्रोलबाट चल्ने मोटरसाइकल एसेम्वल्ड गर्ने आयातकर्तालाई सरकारले राजस्वमा ५० प्रतिशत छुट दिएका कारण आयात वृद्धि भएको सूचना अधिकारी कर्णले बताउनुभयो । 

गत आर्थिक वर्षको साउन महिनामा मोटरसाइकल आयातबाट रु ४४ करोड २१ लाख राजस्व सङ्कलन भएको थियो । चालु आवको सोही अवधिमा भने रु ८८ करोड ६४ लाख राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *