Categories समाचार

नदी किनार अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्न वीरगंज महानगरको आग्रह

Advertisement

वीरगंज l वीरगंज महानगरपालिकाले नदी किनार अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्न सूचना जारी गरेको छ । महानगर भित्र बहने सिरिसिया, तिलावे र सिंगहा नदी अतिक्रमण गरी बनाइएका संरचना तत्काल हटाउन र उक्त नदीको केन्द्रभागबाट ३० मिटर भित्र कुनै पनि संरचना निर्माण नगर्न पनि सूचनामा चेतावनी दिएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले शुक्रबार एक सूचना जारी गर्दै महानगरपालिकाको बस्ती विकास शहरी योजना तथा भवन निर्माण मापदण्ड तथा भवन निर्माण इजाजत सम्बन्धी कार्यविधी २०७५ को दोस्रो संशोधन २०७८ अनुसार मात्रै संरचना बनाउन पनि सबैमा अनुरोध गरेका छन् ।

Advertisement

सिरिसिया, तिलावे र सिंगहा नदीको केन्द्र भागबाट ३० मिटर दायाँ बायाँ छाडेर मात्रै संरचना बनाउन र ३० मिटर भित्र रहेका संरचना १५ दिनभित्र खाली गर्न सूचनामा उल्लेख छ ।

Advertisement

कर्णले जारी गरेको सूचनामा भनिएको छ, ‘ सिरिसिया, तिलावे र सिंगहा नदीको केन्द्र भागबाट ३० मिटर दायाँ बायाँ भित्र निर्माण कार्य नगर्न नगराउन साथै सो भित्र निर्माण भएका संरचना १५ दिनभित्र खाली गरिदिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’

नदी अतिक्रमण गरेर संरचना बनाउँदा नदीको बहाव रोकिएर वर्षायाममा डुबानको समस्या आउने हुँदा नदीको आधार क्षेत्रमा कुनै पनि संरचना नबनाउन महानगरले आग्रह गरेको हो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *