Categories रासस

चिया बेचेरै लखपति बने विनोद

Advertisement

सर्लाही । सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो ठेला उभ्याइएको छ । ठेलामाथि एक थान सिलिन्डर ग्यास, त्यसमा जोडिएको चुलो, दूधले टिलपिल भरिएको डेक्ची, चुलोमा निरन्तर चिया उमालेको ताप्के तथा छेवैमा केही थान गिलास राखिएका छन् ।

यो विगत १८ वर्षदेखिको दृश्य हो । सधँै चियाका पारखीको भीडले घेरिरहने चिया पसले हुन् विनोद साह । लालबन्दी नगरपालिका–९ का ४२ वर्षीय साहले चिया बेचेरै नाम, दाम र पहिचानसमेत बनाउनुभएको छ । बिहान ४ देखि अबेर साँझसम्म उहाँको चिया पसल चियाका पारखीले घेरिरहेको हुन्छ ।

Advertisement

“दैनिक सबेरै पसलमा आउँछु, साँझ ८ बजे मात्र पसल बन्द गरेर घर फर्कन्छु, विगत १८ वर्षदेखिको मेरो दैनिकी यही हो”, साहले भन्नुभयो– “कहिलेकाहीँ बिहान थोरै ढिला हुँदा पनि ग्राहकले गाली गर्नुहुन्छ ।”

Advertisement

विसं २०५९ मा लालबन्दी नगरपालिकास्थित बस्तीपुरमामा रहेको जनज्योति माध्यामिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नु पहिला नै उहाँले चिया पकाउनु सुरु गर्नुभएको थियो ।

रौतहटको दुर्गा भगवतीपुर गाउँपालिका–५ पुख्र्यौली घर भएको साह परिवार बागमतीको बाढीले घरखेत बगाएपछि लालबन्दी बसाइँ सरेको हो । हाल बसोबास रहेको स्थान साहको मामाघर हो ।

“घरखेत बागमतीको बाढीले बगाएपछि मामाघरका हजुरबुबाले आमाबुबालाई यतै बोलाउनुभयो”, उहाँले भन्नुभयो, “त्यसपछि आमाबुबाले हरियो मकै पोलेर, बदाम भुटेर बेच्ने र त्यसबाट आएको पैसाले परिवारको गुजारा गर्नुहुन्थ्यो ।”

आमाबुबालाई सघाउँदासघाउँदै परिवारका लागि आफूले पनि केही गर्नुपर्छ भनेर चिया बेच्न सुरु गरेको साहले बताउनुभयो । “ज्योतिषले हात हेर्दा होटल व्यवसाय फाप्छ भनेका थिए”, उहाँले भन्नुभयो, “होटल खोल्न परिवारसँग पैसा थिएन ।

धेरथोर ऋण गरेर चिया व्यापार सुरु गरेँ ।” यसैबाट परिवारको गुजारासँगै घरबास जोडेको उहाँले बताउनुभयो । साहले बिहान सबेरैदेखि राति अबेरसम्म दैनिक झण्डै तीन सय कप चिया बेच्ने गरेको सुनाउनुभयो । त्यसबाट उहाँले दैनिक रु छ हजारसम्मको कारोबार गर्नुहुन्छ । चियाका लागि दैनिक डेरीबाट ४० देखि ५० लिटर दूध किनेर ल्याउने गरेको साहले बताउनुभयो ।

“प्रतिलिटर दूधको रु ९० तिर्नुपर्छ”, उहाँले भन्नुभयो, “एक कप चिया रु २० मा बेच्छु ।” उहाँका अनुसार पसलमा आउने धेरै ग्राहक नियमित रुपमा आउने गरेका छन् ।

चिया बेचेरै आफूले लालबन्दीमा १५ धुर घडेरी किनेर एकतले पक्की घर बनाएको साहले सुनाउनुभयो । “त्यतिबेला घडेरी किन्दा रु एक लाख तिरेँ”, उहाँले सुनाउनुभयो, “विस्तारै विस्तारै गरेर रु ३५ लाख खर्च गरेर घर बनाएको छु । दुई छोरा र एक छोरीलाई बोर्डिङ स्कुलमा पढाए । खान लगाउन अहिलेसम्म समस्या भएको छैन ।”

महिनामा रु एक लाख ५० हजारभन्दा बढीको कारोबार हुने गरेको उहाँको भनाइ छ । सुरुमा एक वर्ष चिया पसल चलाउँदा उधारो भएर घाटा लागेको साहको अनुभव छ । त्यसयता उहाँले फेरि जीवन गुजाराको विकल्प सोच्नुपरेको छैन । चिया पसलबाट पैसाका साथै साथीभाइ र नाम कमाएको साहको भनाइ छ ।

साथीभाइकै सहयोगमा पाँच महिना अघि उहाँले छोरालाई उच्च शिक्षा अध्ययनका लागि जर्मनी पठाउनुएको छ । साहका अनुसार कान्छो छोरा कक्षा ११ मा र छोरी कक्षा १० मा बोर्डिङ स्कुलमा पढिरहेका छन् ।

चिया व्यापारकै कारण अन्य व्यापार, जागिर र वैदेशिक रोजगारका बारेमा सोच्न नसकेको उहाँ बताउनुहुन्छ । लालबन्दी साहको मावली गाउँ भएकाले सबैले उहाँलाई भान्जा भनेर सम्बोधन गर्छन ।

उहाँ पनि चिया खान आउने साना ठूला सबैलाई मामा भनेर सम्बोधन गर्नुहुन्छ । त्यसैले साहको चिया पसल लालबन्दीभरि ‘भान्जाको चिया पसल’का नामले परिचित छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *