Categories रासस

बुढेसकालको नागरिकताले दिलायो खुसी

Advertisement

झापा । पचहत्तर वर्षको उमेरमा नागरिकता प्रमाणपत्र पाउँदा मेचीनगर नगरपालिका–२ की नीरकुमारी राईको हर्षको सीमा रहेन । नागरिकता पाउनुलाई उनले जीवनकै सबैभन्दा ठूलो धोको पूरा भएको बताइन् ।

“नातिले नागरिकता पाउने बेला भइसक्यो, मेरो बनेको थिएन”, हालै पाएको नागरिकता देखाउँदै उनले भनिन्, “बनाइदेउ न भनेर बुढालाई धेरैचोटी भनेँ, आफन्त र नातागोता गुहारेँ । नागरिकताले भात खान दिने होइन क्यारे, बुढेसकालमा किन चाहियो भन्दै सबै तर्किए । वडाध्यक्षले बल्ल अहिले बनाइदिनुभयो ।”

Advertisement

नीरकुमारीका पति सन्तमान राईको पाँच वर्षअघि निधन भइसकेको छ । चार कट्ठा पाखोबारीमा खनीखोस्री नातिनातिना हुर्काउँदै आएकी उनका तीन छोराको पेट पालनका लागि रोजगारी गर्न भारतको बैंगलोर गएका छन् ।

Advertisement

नीरकुमारीका पति सन्तमानको नागरिकता थियो । छोराहरुको पनि नागरिकता छ । तर, पतिकै बेवास्ताका कारण आफूले यतिका वर्षसम्म नागरिकता नपाएको उनको गुनासो छ । घर नजिकैको भृकुटी र बाहुनडाँगी बजारमा नागरिकता बनाउने टोली पटकपटक आउँदा समेत उनको नागरिकता बनाउने पहलै भएन ।

नागरिकता बनेपछि हर्षित नीरकुमारीले पहिलोपटक सामाजिक सुरक्षा भत्ता पाएकी छिन् । जग्गाको स्वामित्व पतिबाट आफ्नो नाममा सार्ने उनको इच्छा छ । तीन छोरामध्ये जेठो राजकुमार घर छुट्टिएर बस्दै आएको उनले बताइन् ।

माइलो विजय राई र कान्छो पविराम राई रोजगारीका लागि बैंगलोर गएका छन् । जेठी बुहारीको मृत्यु भइसकेको, माइली बुहारीले घर छाडेर हिँडेको र कान्छो छोरा अविवाहित भएको जनाउँदै उनले नातिनातिना पढाएर माइलो छोराको घरमा बस्दै आएको बताइन् ।

वडा कार्यालयले अपाङ्गता भएर बोल्न नसक्ने, सुन्न नसक्ने, आँखा नदेख्ने र एकल जीवन बिताइरहेका ज्येष्ठ नागरिकहरुको नागरिकता बनाइदिने अभियान चलाएको छ । सोही क्रममा नीरकुमारी राईको आफूले सनाखत गरेर नागरिकता दिलाएको वडाध्यक्ष दीपक बरालले बताए ।

“जसको कोही छैनन्, उसका लागि वडा कार्यालय छ”, वडाध्यक्ष बराल नागरिकता अभियानबारे भन्छन्, “सनाखत गर्ने मान्छे ल्याउनुप¥यो भनेर सिडिओहरु नागरिकता दिन आनाकानी गर्नुहुन्छ । गलत व्यक्तिलाई सिफारिस गरेको रहेछु भने मलाई लगेर थुनिदिए हुन्छ भन्दै मैले नै उहाँहरुको सनाखत गरिदिने गरेको छु ।”

सनाखत गरिदिने नातेदारको निधन भइसकेको र सम्पर्कमा नरहेको अवस्थामा कोही पनि वडावासी ज्येष्ठ नागरिकहरुले आफ्नै थाकथलोमा अनागरिकको पीडा भोग्नु नपरोस् भनेर वडाले सिफारिस र वडाध्यक्षको तर्फबाट सनाखत गरिदिएको बराल बताउँछन् ।

सुस्तश्रवण, दृष्टिविहीन र आफन्त गुमाइसकेका दशजना ज्येष्ठ नागरिकको चालु आर्थिक वर्षमै सिफारिस दिएर नागरिकता दिलाइसकेको उनले जानकारी दिए । त्यस्ता व्यक्तिहरुको नागरिकता बनाउने क्रममा वडा कार्यालय र जिल्ला प्रशासन कार्यालय धाउने खर्च समेत वडाले बेहोर्ने गरेको छ ।

आर्थिकरुपमा विपन्न परिवारकै ज्येष्ठ बुबाआमाहरु नागरिकता बनाउनबाट वञ्चित रहेको आफूले पाएको उनले बताए । त्यहीकारण उनीहरुको नागरिकता बनाउँदा लाग्ने खर्च वडा कार्यालयको तर्फबाटै बेहोरिएको उनको भनाइ छ ।

आफन्त गुमाइसकेका सोही वडाका केशरबहादुर राईले ८६ वर्षको उमेरमा हालै नागरिकता पाए । वडाध्यक्ष बराल आफैँले सिफारिस र सनाखत गरेर उनको पनि नागरिकता बनेको हो ।

विसं २०१८ मा पहाडबाट तराई झरेका केशरबहादुर मेचीनगरको बाहुनडाँगी आउँदा २२ वर्षको लक्का जवान थिए । उमेर पुगे पनि उसबेला नागरिकता बनाउने चलन थिएन ।

बिहे गरेर पत्नीसहित उनी रोजगारीको खोजीमा बाहुनडाँगीबाट भौतारिँदै भारतको आसाम पुगे । विसं २०२४ मा आसामबाट थाकथलो बाहुनडाँगीमै फर्किए । “उमेर छउञ्जेल गरिखान बलियो पाखुराले पुगिहाल्यो, सन्तान नभएपछि नागरिकता बनाउनेतिर लागिएन”, उनले भने । पत्नीको मृत्युपछि एक्लो जीवन बिताइरहेका उनीसँग बुढेसकालमा न सन्तानको सहारा थियो, न त नागरिकता नै आधार ।

आसामबाट फर्केर आएपछि पत्नीको मृत्यु बाहुनडाँगीमै भएको उनले बताए । अर्काको घरखेतमा ज्यालादारी काम गरेर जीवन बिताउँदै आएको उनको आफ्नो जग्गा छैन । रात काट्नका लागि चौबाटोको कुनोमा सानो झुपडी बनाएर उनी बस्दै आएका छन् ।

ज्येष्ठ नागरिकको सम्मान र पहिचानका खातिर आफूले केशरबहादुरको नागरिकता बनाउने पहल गरेको वडाध्यक्ष बरालले बताए ।

नागरिकता पाएपछि उनको जीवनमा खुसीको उमङ्ग छाएको छ । आफ्नो झुपडीमा बलियो झ्यालढोका नभएको कारण नागरिकता नहराओस् भनेर उनले छिमेकीको घरमा जतनका साथ राख्न दिने गरेको बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *