Categories अन्तर्राष्ट्रिय

भारतले भन्यो : पाकिस्तानले हाई स्पीड मिसाइल प्रयोग गर्‍यो

काठमाडौं । पाकिस्तानले हाई स्पीड मिसाइल प्रयोग गरेको भारतले बताएको छ।

शनिबार एक पत्रकार सम्मेलनमा कर्नेल सोफिया कुरेशीले शुक्रबार र शनिबारको मध्यरातमा पाकिस्तानसँगको सीमामा भारतको बदला लिने कारबाहीको बारेमा बोल्दै यस्तो बताएकी हुन्। उनले पाकिस्तानी सेनाले पश्चिमी मोर्चाभरि आक्रामक गतिविधिहरू जारी राखेको बताइन्।

Advertisement

उनका अनुसार नियन्त्रण रेखामा ड्रोन घुसपैठ र भारी हतियारबाट गोलीबारी भएको र श्रीनगरदेखि नालियासम्म २६ स्थानमा हवाई घुसपैठको प्रयास गरिएको छ, जसमध्ये धेरैजसोलाई विफल पारिएको थियो।

Advertisement

कर्नेल कुरेशीले भनिन्, ‘पाकिस्तानले उधमपुर, भुज, पठानकोट, भटिंडा र आदमपुर सैन्य एयरबेसमा रहेका उपकरण र कर्मचारीहरूलाई क्षति पुर्‍याएको छ।’

पाकिस्तानले बिहान १.४० बजे पञ्जाबको सैन्य अड्डामा उच्च गतिको मिसाइल प्रहार गरिएको उनले बताएकी छिन्। कर्नेल कुरेशीले भनिन्, ‘भारतले यो क्षेप्यास्त्रलाई निष्क्रिय पारेको छ।’

भारत र पाकिस्तानबीच जारी तनावका बीच लगातार चौथो दिन पनि विदेश सचिव विक्रम मिश्री, भारतीय सेनाका कर्णेल सोफिया कुरेशी र भारतीय वायुसेनाका विङ कमाण्डर व्योमिका सिंहले पत्रकार सम्मेलन गरेका हुन्।

पत्रकार सम्मेलनमा भारतका विदेश सचिव विक्रम मिश्रीले भने, ‘पाकिस्तानका गतिविधिहरू निरन्तर उत्तेजक छन्। प्रतिक्रियामा भारतले यी उत्तेजक कार्यहरूको जवाफ दिएको छ।’

भारतको यो भनाइमाथि पाकिस्तानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *