बिरगंज l मधेश प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले भारत-पाकिस्तानको युद्धमा मधेश सँधै भारतको साथ रहने बताएका छन् ।
उनले मधेश प्रदेशका जनताले सँधै मानवता, शान्ति र न्यायको पक्षमा उभिने परम्परा बोकेको भन्दै हाम्रो प्रदेशले पनि विगतमा अनेकौं पीडा र संघर्ष भोगेको हुँदा हामी भारतका आम जनताको पीडामा गहिरो आत्मीयता महसुस गर्छौं भनेर बताएका छन् ।
आफ्नो सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘जम्मु-कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा एक नेपालीसहित २६ निर्दोष जनताको ज्यान गयो । ती व्यक्तिहरू केवल नाम र आँकडा होइनन्उ-नीहरू कसैको बाबु थिए, कसैको आमा, छोरी, दाइ, साथी थिए ।
ती ज्यानहरूसँगै धेरै सपना पनि मरे । आज भारतले आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्न साहसी निर्णयहरू लिँदै आएको छ । जब कुनै राष्ट्र बारम्बार आतङ्कको निशानामा पर्छ, तब प्रतिकार गर्नु अधिकार मात्र होइन, दायित्व पनि हुन जान्छ । भारतको यी प्रयासहरूलाई हामीले समर्थन गर्नुपर्छ, किनभने आतङ्कविरुद्धको लडाइँ कुनै एक देशको मात्र होइन, हामी सबैको साझा लडाइँ हो ।
म मधेश प्रदेशको मुख्यमन्त्रीको हैसियतले भारत सरकार र त्यहाँका जनताप्रति गहिरो संवेदना र ऐक्यबद्धता व्यक्त गर्दछु । भारतमाथि भएको आक्रमणप्रति हाम्रो धारणा स्पष्ट छ-आतङ्कवादको कुनै धर्म, जात, वा सिमाना हुँदैन । यस्तो कायरता मानवता विरुद्धको अपराध हो, र यसको प्रतिकार आवश्यक छ ।
आजको घडीमा हामीलाई चुप लाग्नु होइन, सत्यको पक्षमा बोल्न आवश्यक छ । आतङ्ककारीहरूलाई मौन साथ होइन, खुलेर प्रतिकार चाहिन्छ। मधेश भारतको साथमा छ—आज पनि, भोलि पनि, र सदैव ।’





