Categories समाचार

डिजिटल युगको पत्रकारिता: वीरगञ्जमा साइबर सुरक्षा र एआईबारे पत्रकारहरूलाई प्रशिक्षण

वीरगञ्ज । डिजिटल युगसँगै तीव्र रुपमा बदलिँदो सञ्चार माध्यमको परिवेशमा पत्रकारितालाई थप जिम्मेवार र सुरक्षित बनाउने उद्देश्यसहित “साइबर सुरक्षा तथा कृत्रिम बौद्धिकता (एआई)” सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आज वीरगञ्जमा सम्पन्न भएको छ।

नेपाल आमसञ्चार प्राधिकरण, मधेस प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ पर्साको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न सञ्चार संस्थाबाट पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो।

Advertisement

कार्यक्रमको उद्घाटन मधेस प्रदेशका सांसद श्याम पटेलले गरेका थिए। उद्घाटन समारोहमा बोल्दै सांसद पटेलले प्रविधिको प्रयोगसँगै मिडियामा देखिएको “छाडापन” प्रति चिन्ता व्यक्त गर्दै सञ्चारकर्मीहरुलाई जिम्मेवार र सत्यनिष्ठ पत्रकारिताको अभ्यास गर्न आह्वान गरे।

Advertisement

प्रदेशस्तरीय सञ्चार विकासमा प्रतिबद्ध रहेको बताउँदै नेपाल आमसञ्चार प्राधिकरण, मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खरगले पत्रकारहरूको सीप अभिवृद्धि र प्रविधिमैत्री बन्ने खालका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।

कार्यक्रममा सहभागी पत्रकारहरुले साइबर सुरक्षासम्बन्धी नयाँ चुनौती, फेक न्यूजको पहिचान, एआईको प्रयोगबाट पत्रकारितामा आउन सक्ने परिवर्तन लगायतका विषयमा जानकारी प्राप्त गरेका थिए।

वीरगञ्जको वृन्दावन होटेलमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमले डिजिटल सञ्चार माध्यमको सुरक्षा र विश्वसनीयता कायम गर्न पत्रकारहरुको भूमिकालाई अझ मजबुत बनाउन सघाउने विश्वास व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *