वीरगन्ज । ब्राइट प्लस टु कलेजद्वारा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी आइतबार वीरगन्जको टाउनहलमा एक दिवसीय विशेष तालिम कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका शिक्षा शाखा प्रमुख आनन्द लामिछानेले दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।
कार्यक्रमको अध्यक्षता कलेजका संस्थापक मुकेश गुप्ताले गर्नुभएको थियो भने मनजु श्री फाइनान्सका दिगम्बर थापा, सिए सतीश पाण्डे, सानिमा रिलायन्सका दिगम्बर गुप्ता, श्याम सर्राफ र सुर्यनारायण शुभचिन्तक अतिथि वक्ताका रूपमा सहभागी हुनुहुन्थ्यो।
वक्ताहरूले जीवन बाँच्ने कला, आत्मविश्वास, र लक्ष्यप्रति समर्पणका विषयमा प्रेरणादायी भनाइ प्रस्तुत गर्दै आफ्ना विगतका संघर्ष र परिश्रमको अनुभव विद्यार्थीहरूसँग साझा गरे। लक्ष्य लिएर अनुशासनसाथ अघि बढ्न विद्यार्थीहरूलाई प्रेरित गरे।
तालिमका प्रशिक्षक मानवसेवा आश्रमका देवेश मानवसेवा रहनुभएको थियो। उहाँले सामाजिक सेवाको महत्त्व, मानवीय मूल्य र सहकार्यको भावना विषयमा प्रभावशाली प्रशिक्षण दिनुभएको थियो।
कलेजले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व र व्यावसायिक तयारीलाई सुदृढ बनाउने उद्देश्यले सो तालिमको आयोजना गरेको कलेजका प्रशासन प्रमुख अखिल पटेलले जानकारी गराए ।


