वीरगञ्ज । विशेष सूचनाका आधारमा प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएका विभिन्न प्रकारका औषधिसहित एक युवक र सवारीसाधन नियन्त्रणमा लिएको छ।
पर्साको विन्दवासिनी गाउँपालिका वडा नं. ४ मधवलस्थित सडकखण्ड हुँदै भारतबाट चोरी पैठारी गरी ना.५ च २४८३ नम्बरको पिकअप गाडीमा जिल्ला बारा, जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ५ का २४ वर्षीय सुनिल कुमार रामले विभिन्न प्रकारका औषधिहरू लोड गरी वीरगञ्जतर्फ ल्याउँदै गरेको पाइएको थियो।
औषधिसम्बन्धी आवश्यक कागजात, विशेषगरी विलबिजक नभएको पाइएपछि गाडी, चालक राम, र औषधि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीका अनुसार बरामद औषधिको अनुमानित मूल्य रु. १२ लाख ७८ हजार ५ सय २० रहेको छ।
जफत गरिएको पिकअप गाडी, पक्राउ परेका व्यक्ति, र बरामद औषधि थप अनुसन्धान तथा कारबाहीका लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो।




