वीरगञ्ज । झुटाे बिहे गर्ने प्रलोभन देखाई एक नाबालिकालाई भारतसम्म लगी पटक–पटक जबरजस्ती करणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
प्राप्त जानकारी अनुसार १४ वर्षीया एक नाबालिका ०८१ मंसिर २५ गते राति करिब १०:०० बजे खाना खाई बजार जाने भन्दै घरबाट निस्किएकी थिइन्। तर, रातिसम्म पनि घर नफर्किएपछि उनका आफन्तहरूले खोजतलास सुरु गरेका थिए। खोजीका क्रममा ती नाबालिकालाई भारतको बिहारस्थित एक कोठामा पत्ता लगाइएको थियो, जहाँ २५ वर्षीय मनिष पासवानले उनीमाथि पटक–पटक करणी गरेको खुलेको छ।
भारत बिहार निवासी पासवान हाल पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका–१५ स्थित एक कोठामा भाडामा बस्दै आएका थिए। उनले नाबालिकालाई बिहे गर्छु भन्ने झुटाे आश्वासन दिँदै फकाएर भारत लगेका थिए। त्यहाँ उनले शारीरिक शोषण गर्दै पटक–पटक करणी गरेका थिए। पछि ०८२ साल जेठ ११ गते ती पीडित बालिकालाई पुनः वीरगञ्ज ल्याई छाडिएको थियो।
पीडित पक्षबाट प्रहरी कार्यालयमा उजुरी परेको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साले घटनाको गम्भीरताका साथ अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानकै सिलसिलामा आरोपी मनिष पासवानलाई मिति ०८२ जेठ १२ गते नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता किशोर लम्सालले जानकारी दिनुभयो।
प्रहरीले निज पासवानलाई करणी सम्बन्धी कसूरमा सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ।






