Categories समाचार

बिरगंजमा ‘लोक चबुतरा’ सुरु, नागरिक आवाज र बहसको खुला मंच

बिरगंज । उत्कर्ष नेपालको पहलमा बिरगंजमा आज ‘लोक चबुतरा’ नामक नागरिक संवाद शृङ्खलाको सुरुवात गरिएको छ।

गणतन्त्र दिवसको अवसर पारेर आयोजित पहिलो शृङ्खलामा ‘जनता जगाएको तन्त्र : गणतन्त्र’ विषयमा राजनीतिक दलका नेता, युवा, साहित्यकार, पत्रकार, कलाकार र समाजसेवीको उपस्थितिमा गहिरो बहस र संवाद भएको छ।

Advertisement

कार्यक्रमको उद्देश्य स्थानीय, राष्ट्रिय र वैश्विक मुद्दामा आम नागरिकको आवाज उठाउने खुला मञ्च तयार गर्नु हो, जहाँ टकराव होइन, सम्मानपूर्वक विचार आदान–प्रदान हुनेछ। आयोजकहरूको भनाइमा अब नागरिक संवादमा नाराभन्दा कुरा र भाषणभन्दा बहसको संस्कार सुरु गर्ने प्रयास हो यो।

Advertisement

कार्यक्रममा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल र जनता समाजवाद पार्टीका नेताहरूले सहभागिता जनाए। उनीहरूले गणतन्त्रको अभ्यास, चुनौती र सुधारको आवश्यकता बारे आफ्ना धारणा राखे।

कार्यक्रममा रितुराज पटेल, जय साह, जेसिस पर्साका अध्यक्ष सरोज चौरसिया, हास्य व्यंग्यकार अशोक कुशवाहा, साहित्यकार अमोद गुप्ता, कपडा बैंक अध्यक्ष लालबाबु राजपुत, अस्मिता पटेल लगायत युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले गणतन्त्रलाई जनतामै फर्काउने कुरामा जोड दिए।

बिरगंज पब्लिक कलेजको सभाहलमा आयोजित सो कार्यक्रमको सहजीकरण पत्रकार राजेन्द्र सिंह राजपूतले गरेका थिए।

आयोजकहरूले “लोक चबुतरा” लाई नियमित शृङ्खलाका रूपमा अघि बढाउने जानकारी दिएका छन्, जसले नागरिक बहस र समझदारीको संस्कारलाई मजबुत बनाउने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *