पर्सा । पर्सा जिल्लाको विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न रहेका दुई जना व्यक्तिलाई प्रहरीले चोरीका मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।
प्राप्त जानकारीअनुसार, २०८२ साल बैशाख २३ गते बिहान करिब ४:०० बजे वीरगञ्ज महानगरपालिका वडा नं. १३ स्थित मूर्ली नयाँ टोलमा पार्किङ गरिएको मधेश प्रदेश-०३-०२७ प ५५५५ नम्बरको १६० सीसी क्षमताको एनएस मोटरसाइकल चोरी भएको थियो।
उक्त मोटरसाइकल वर्ष ३५ की सारजा खातुनको नाममा दर्ता रहेको थियो। चोरले घरअगाडि पार्किङ गरी राखिएको मोटरसाइकलको लक फोरेर चोरी गरेको पीडितको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानको क्रममा २०८२ जेठ १६ गते सर्लाही जिल्ला कबिलासी नगरपालिका वडा नं. ४ निवासी २१ वर्षीय राधेश्याम यादवलाई सोही चोरी भएको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएको छ।
त्यसैगरी, २०८२ जेठ १७ गते साँझ ४:३० बजे वीरगञ्ज महानगरपालिका वडा नं. ४ अमरचोकमा पार्किङ गरी राखिएको प्रदेश २-०३-०२२ प २७७६ नम्बरको कालो रातो रंगको १५० सीसी क्षमताको पल्सर मोटरसाइकल चोरी गर्ने प्रयासमा संलग्न एक जनालाई पनि प्रहरीले रंगेहात पक्राउ गरेको छ। मोटरसाइकल प्रमोद प्रसाद साहको नाममा दर्ता रहेको थियो। चोरी गर्दै गरेको अवस्थामा बारागढी गाउँपालिका वडा नं. १ निवासी २५ वर्षीय रूपेश चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै व्यक्तिविरुद्ध चोरी सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिइ अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन्।






