वीरगञ्ज । भीषण गर्मीको बीच पटक–पटकको लोडसेडिङले जनजीवन अस्तव्यस्त बनेपछि वीरगञ्जका मेयर राजेशमान सिंह ऊर्जा मन्त्री दीपक खड्कासँग विद्युत आपूर्तिको दीर्घकालीन समाधानको माग गर्न काठमाडौं पुगेका छन्।
खानेपानी मन्त्री प्रदीप यादवसँग ऊर्जा मन्त्रालय पुगेका सिंहले मन्त्री खड्कालाई भेटेर वीरगञ्जसहित मधेसमा ४० डिग्री तापक्रमको झरीमा बारम्बार बत्ती जानुले जनस्वास्थ्यदेखि शिक्षा, उद्योग, घरेलु जीवन सबै तहमा संकट ल्याएको बताए।
“बत्तीको समस्याले अस्पतालमा उपचार रोकिएको छ, विद्यालयमा पढाइ प्रभावित छ, उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन्,” मेयर सिंहले भने, “यो अब सह्य छैन, तुरुन्त दीर्घकालीन समाधान आवश्यक छ।”
उनले अस्पताल र विद्यालयहरूमा तत्काल स्थलगत निरीक्षण गरी ट्रान्सफर्मर मर्मत वा प्रतिस्थापन गर्न पनि आग्रह गरे।
मेयर सिंहको आग्रहपछि ऊर्जा मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरण मधेस प्रदेश प्रमुख मनोज यादवलाई फोनमार्फत वीरगञ्ज क्षेत्रमा देखिएको समस्या तुरुन्त समाधान गर्न निर्देशन दिएका छन्।
मन्त्री खड्काले अस्पताल र शैक्षिक संस्थामा प्राथमिकता दिनसमेत भनेका छन्।






