Categories समाचार

वीरगञ्जको विद्युत् समस्या समाधानका लागि नगरप्रमुखको पहल, प्राधिकरणका निर्देशकको सकारात्मक प्रतिबद्धता

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगर क्षेत्रमा पछिल्लो समय पटक–पटक अनियमित रूपमा विद्युत् आपूर्ति अवरुद्ध हुँदै आएकाले सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको छ।

यस समस्याप्रति गम्भीर चिन्ता व्यक्त गर्दै वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले नेपाल सरकारका ऊर्जा मन्त्री दीपक खड्कासँग भेट गरी समस्याको शीघ्र समाधानका लागि आग्रह गरेका थिए ।

Advertisement

त्यसै सन्दर्भमा नेपाल विद्युत् प्राधिकरणका निर्देशक मनोज यादव वीरगञ्ज आइपुगी नगरप्रमुख सिंहसँग भेटघाट गरेका छन् । नगरप्रमुखको कार्यकक्षमा आयोजित सो भेटघाटमा वीरगञ्ज र आसपासका क्षेत्रमा विद्युत् आपूर्तिको अस्थिरताले सिर्जना गरेका बहुआयामिक समस्याबारे गम्भीर छलफल भएको थियो।

Advertisement

नगरप्रमुख सिंहले विद्युत् अभावका कारण अस्पतालमा बिरामीहरूको उपचार प्रभावित भएको, विद्यालयहरूको पठनपाठन अवरुद्ध भएको, घरपरिवारका सदस्यहरू विशेषगरी बालबालिका, वृद्धवृद्धा, गृहिणी महिलाहरू मर्कामा परेको र घरेलु तथा औद्योगिक उपकरणहरू बिग्रन थालेको जस्ता समस्या प्रस्तुत गर्दै तत्काल सुधारको माग गर्नुभयो।

उनले भने, “यो समस्या केवल बिजुली जाने विषय मात्र होइन, जनजीवन, शिक्षा, स्वास्थ्य र उद्योगधन्दासम्म असर पुर्‍याउने गम्भीर विषय हो।”

सो क्रममा निर्देशक यादवले वीरगञ्ज र वरपरका क्षेत्रका लागि आवश्यक पूर्वाधार शीघ्र जडान गरी समस्या समाधान गर्न वीरगञ्ज वितरण केन्द्रलाई निर्देशन दिइसकिएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “वीरगञ्ज विद्युत् आपूर्तिको सन्दर्भमा हाम्रो उच्च प्राथमिकतामा रहेको क्षेत्र हो। आवश्यक स्रोत र साधन जुटाई स्थायी समाधानका लागि प्राधिकरण प्रतिबद्ध छ।”

सो अवसरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, विद्युत् शाखा प्रमुख राजीव उपाध्याय तथा नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुखको समेत उपस्थिति रहेको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *