वीरगञ्ज । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल वीरगञ्जबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपाली मुद्रा भित्र्याउने प्रयासमा संलग्न दुई जनालाई १८ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको छ।
पहिलो घटनामा, वीरगञ्ज महानगरपालिका–१६ स्थित वीरगञ्ज भन्सार कार्यालयको चेकजाँच विन्दुबाट करिब ५० मिटर अगाडि त्रिभुवन राजपथ सडकखण्डमा भारतबाट नेपालतर्फ आइरहेको BR05AT0475 नम्बरको मोटरसाइकलमा सवार पर्सा, वीरगञ्ज–२ छपकैयाका १९ वर्षीय राहुल कुमार तिवारीलाई रोक्दा, मोटरसाइकलको एअर फिल्टर बक्समा लुकाई छिपाई ल्याइएको नेपाली रुपैयाँ १३ लाख फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
मोटरसाइकलसहित युवकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
त्यसैगरी, दोस्रो घटनामा सोही गुल्मबाट खटिएको अर्को टोलीले वीरगञ्ज म.न.पा.–१६ स्थित भन्सार गेट नजिक भारतबाट नेपाल प्रवेश गर्दै गरेको ना ४७ प ९७१० नम्बरको कालो/नीलो रङको HERO GLAMOUR मोटरसाइकलमा सवार बारा, प्रसौनी गाउँपालिका–२ निवासी ४० वर्षीय कौशल कुमार गुप्तालाई शंका लागी जाँच गर्दा, उनले शरीरका विभिन्न भागमा लुकाई छिपाई ल्याएको नेपाली रुपैयाँ ५ लाख बरामद भएको हो।
उनलाई समेत प्रयोगमा ल्याइएको मोटरसाइकलसहित नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
दुवै घटनामा बरामद नगद, संलग्न व्यक्तिहरू र प्रयोग भएका सवारी साधनसहित आवश्यक अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो।






