काठमाडौं । संघीय सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुनचाँदी व्यवसायसम्बन्धी वस्तुहरूमा लगाइएको १३% भ्याट, २ % विलासी कर तथा अन्य शुल्कको विरोधमा पर्सा, बारा, रौतहट लगायतका जिल्लाका सुनचाँदी व्यवसायी र कालिगढहरू मिलेर सोमबार काठमाडौंमा शान्तिपूर्ण विरोध र्याली गरेका छन्।
उनीहरूले ‘भ्याट खारेज गर’, ‘विलासी कर खारेज गर’, ‘सुनचाँदी व्यवसायमैत्री नीति लागू गर’ लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।
र्यालीमा सहभागी पर्साका व्यवसायी प्रतिनिधि हरिओम सर्राफका अनुसार, बजेटमा गरिएको कर वृद्धिले सुनचाँदी व्यवसाय धरासायी हुने खतरा देखिएको छ। “यो कर संरचना व्यवसायमैत्री होइन, यसले कालिगढ, व्यवसायी र उपभोक्ता सबै प्रभावित हुन्छन्,” सर्राफले भने।
प्रदर्शनकारीहरूले बजेटमा गरिएको कर संरचना तत्काल संशोधन गर्न र व्यवसायमैत्री नीति ल्याउन सरकारसँग माग गरेका छन्। उनीहरूले आवश्यक परे थप चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।
र्यालीमा मधेश प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधिमण्डलसहित काठमाडौं आएका व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। र्याली पूर्ण रुपमा शान्तिपूर्ण तरिकाले सम्पन्न गरिएको थियो।






