मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका–१ स्थित एक व्यक्तिको घरबाट प्रहरीले पेस्तोल, लागुऔषध अफिम र गाँजा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले राजु स्याङतानको घरमा खानतलासी गर्दा ठूलो मात्रामा लागुऔषध र हातहतियार फेला पारेको हो ।
प्रहरीका अनुसार, स्याङतानको सुत्ने कोठाको सिरानीमुनी कपडामा बेरेर राखिएको अवस्थामा ७.६५ एम.एम. युनिभर्सल मेड इन इटाली लेखिएको पेस्तोल १ थान, त्यसको म्यागजिन २ थान (एकथान पेस्तोलमा र अर्को खाली) र १३ राउण्ड गोली बरामद गरिएको छ ।
त्यस्तै, गोठको दोस्रो तलामा मकैको खोस्टा र पत्करभित्र प्लाष्टिकको झोलामा बेरेर लुकाइएको १ थान कटुवा पेस्तोल, ८ एम.एम. लेखिएको १२ राउण्ड गोली, अफिमजस्तो देखिने १ किलो ३१० ग्राम गिलो पदार्थ, र २२ किलो ८०० ग्राम गाँजा समेत फेला परेको प्रहरीको भनाइ छ ।
प्रहरीले स्याङतानलाई नियन्त्रणमा लिई लागूऔषध तथा हातहतियार खरखजना सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
त्यस्तै, थप अनुसन्धानको क्रममा स्याङतानको घरबाट करिब ५०० मिटर टाढा चन्द्रलाल मोक्तानको बारीमा रहेको आँपको रुखको फेदमा प्लाष्टिकमा बेरेर सेतो बोराको झोलामा लुकाइएको अवस्थामा अर्को कटुवा पेस्तोल १ थान, ५ राउण्ड गोली, र २ पोकामा राखिएको अफिमजस्तो देखिने १ किलो ४८० ग्राम पदार्थ समेत फेला पारिएको प्रहरीको भनाइ छ ।
प्रहरीले बरामद सबै लागुऔषध तथा हातहतियार नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।






