वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकारले नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र वीरगञ्जमा रक्तदान गर्न आउने रक्तदाताहरूको सुविधाका लागि डेढ टनको एसी र स्टेप्लाइजर सहयोगस्वरूप प्रदान गरेका छन्।
रक्तदान केन्द्रमा चिसो वातावरण व्यवस्थापन गर्न आवश्यक देखिएको अवस्थामा दुई दिनअघि मात्रै सहयोग गर्ने घोषणा गरेका वडाध्यक्ष स्वर्णकारले आफ्नो वचनको पालना गर्दै सोमबार उक्त सामग्री हस्तान्तरण गरेका हुन्।
सो अवसरमा रेडक्रसका पदाधिकारी, कार्यसमिति सदस्य तथा कर्मचारीहरू समेत उपस्थित थिए।
रक्तदाताको सुविधा र स्वास्थ्यप्रति उच्च ध्यान दिँदै गरिएको यो सहयोग अत्यन्तै सराहनीय भएको रेडक्रसका पदाधिकारीहरूले बताएका छन्।
जनप्रतिनिधिहरूको यस्ता सकारात्मक पहलले सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता प्रकट गरेको भन्दै केन्द्रले वडाध्यक्ष स्वर्णकार र वडासदस्यहरुलाई धन्यवाद प्रकट गरेको छ।
वडाध्यक्ष स्वर्णकार यसअघि पनि शिक्षा, स्वास्थ्य र सरसफाइजस्ता क्षेत्रमा क्रियाशील रहँदै सामाजिक सेवामा उदाहरणीय योगदान दिँदै आएका छन्। रक्तदानजस्तो मानवीय कार्यलाई प्रोत्साहन दिने उनको यो कदमले सामाजिक उत्तरदायित्वको प्रतिमान स्थापना गरेको बताइएको छ।






