वीरगन्ज । बारा जिल्लाको कलैया उपमहानगरपालिका–१४ स्थित बघवन टोलमा पुरानो रिसीवीका कारण एक व्यक्तिको ज्यान जाने गरी भएको कुटपिट घटनामा संलग्न चार जना पक्राउ परेका छन् भने अन्यको खोजी तीव्र गतिमा भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
जेठ २९ गते बेलुका करिब ६:१५ बजे ५० वर्षीय नन्दु राउत कुर्मीमाथि उमेश जैसवालसहित ६ जनाको समूहले कुटपिट गरेका थिए। गम्भीर अवस्थामा रहेका कुर्मीलाई तत्काल प्रादेशिक अस्पताल, कलैयामा उपचारका लागि लगिएको थियो। तर, उपचारको क्रममा सोही दिन साँझ ७:२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीको सक्रियतामा सोही दिन २८ वर्षीय दिगम्बर साह कलवारलाई पक्राउ गरि जिल्ला अदालत बाराबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ। त्यसपछि प्रहरी निरीक्षक खेम प्रसाद नेपालको नेतृत्वमा खटिएको विशेष टोलीले अन्य तीन जना आरोपीलाई फरक फरक स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा कलैया–१४ की ३८ वर्षीया रन्जु जैसवाल (मुख्य आरोपी उमेश जैसवालकी श्रीमती), उनका २० वर्षीय छोरा सुमित जैसवाल र १८ वर्षीय छोरा सुजित कुमार जैसवाल रहेका छन्। रन्जुलाई कलैया वडा नं. ५ स्थित सागर लामिछानेको घरबाट र सुमित तथा सुजितलाई पर्साको वीरगंज महानगरपालिका–१ स्थित बसिर मियाँको घरबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।
उनीहरूविरुद्ध अदालतबाट म्याद थप गराई ज्यानसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ। यसबीचमा अन्य फरार व्यक्तिहरुको पहिचान र खोजी कार्यलाई समेत तीव्रता दिइएको प्रहरीको भनाइ छ।






