वीरगञ्ज । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा वीरगञ्जमा आयोजित तीन दिने निःशुल्क योग शिविर सम्पन्न भएको छ।
अग्रवाल महिला मञ्च र मारवाडी युवा मञ्च वीरगञ्जको संयुक्त आयोजनामा भएको उक्त शिविर असार ४ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको हो।
“योग से सह अस्तित्व की भावना” भन्ने मूल नाराका साथ सुरु गरिएको शिविरमा पतञ्जलि योग समिति, पर्साको प्राविधिक सहयोग प्राप्त भएको थियो।
शिविरमा सहभागीहरूलाई योग अभ्यास, ध्यान विधि, प्राणायाम लगायतका विविध कार्यक्रममार्फत शारीरिक, मानसिक तथा आध्यात्मिक सन्तुलन कायम गर्ने अभ्यास गराइएको थियो।
आयोजक संस्थाहरूका अनुसार उक्त शिविरले सहभागीहरूमा जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने, योगप्रतिको चेतना बढाउने र स्वस्थ जीवनप्रति अभिप्रेरित गर्ने उद्देश्य राखिएको थियो।
कार्यक्रममा अग्रवाल महिला मञ्चकी अध्यक्ष नूतन सरावगी, उपाध्यक्ष कविता खेतान, सचिव श्वेता गुप्ता, कोषाध्यक्ष नैन्सी अग्रवाल, साथै मीरा खेतान र रेनु अग्रवाललगायतको उल्लेखनीय भूमिका रहेको थियो।
सार्वजनिक हितलाई केन्द्रमा राखेर सम्पन्न गरिएको यस योग शिविरले स्थानीय समुदायमा योगप्रति जनचेतना फैलाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।






