वीरगञ्ज । आत्मरक्षा, नैतिक शिक्षा र नारी सशक्तिकरणको सन्देश बोकेको विशेष स्मारक स्तम्भ वीरगञ्जको आदर्शनगरस्थित शंखधर साख्वा पार्कमा अनावरण गरिएको छ।
‘आचार्य महाश्रमण कन्या सुरक्षा सर्किल’ अभियान अन्तर्गत निर्मित यो स्तम्भ वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको हातबाट एक औपचारिक समारोहबीच उद्घाटन गरियो।
यस स्तम्भमार्फत समाजमा कन्या सुरक्षा, नैतिकता र आत्मबल निर्माणको साझा संकल्पलाई मूर्त रूप दिन खोजिएको आयोजक संस्थाको भनाइ छ।
कार्यक्रमको अध्यक्षता तेरापन्थ महिला मण्डल वीरगञ्जकी अध्यक्ष बबिता खटेडले गर्नुभयो। उहाँले बालिका र महिलाहरूको लागि सुरक्षित, सुसंस्कारयुक्त र आत्मनिर्भर समाज निर्माणमा यस्ता अभियानहरूको महत्व झल्काउँदै सबैलाई सक्रिय सहभागिताको आह्वान गर्नुभयो।
अनावरण समारोहमा प्रमुख अतिथिहरूलाई सम्मानस्वरूप अंगवस्त्र र स्मृति चिह्न प्रदान गरियो। साथै, प्रेरणादायी सांगीतिक प्रस्तुति तथा नारी सशक्तिकरणमा केन्द्रित विचारहरू प्रस्तुत गर्दै कार्यक्रमलाई थप सजीव बनाइएको थियो।
वक्ताहरूले नारीमाथिको हिंसा, असमानता र भेदभाव अन्त्य गर्न शिक्षा, सुरक्षा र संस्कारको त्रिवेणी आवश्यक रहेको बताउँदै, यस्ता स्तम्भहरू केवल संरचनात्मक नभई चेतनात्मक अभियानका प्रतीकसमेत भएको उल्लेख गरे।
आयोजकका अनुसार ‘कन्या सुरक्षा सर्किल’ को सन्देश केवल वीरगञ्जमा सीमित नरहने गरी नेपाल र भारतका विभिन्न स्थानहरूमा यसको विस्तार गरिँदैछ।
अभियानको दीर्घकालीन लक्ष्य भनेको महिला र किशोरीहरूलाई सुरक्षित, सशक्त र संस्कारयुक्त जीवनको दिशामा अघि बढाउनु रहेको छ।









