वीरगन्ज । धार्मिक आस्थासँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै श्री गहवामाई रथ यात्रा समितिले यस वर्षको रथ यात्रालाई मानवता र सेवा भावले थप अर्थपूर्ण बनाएको छ।
रथ यात्रा प्रारम्भ हुनु अघि समितिले वीरगंजस्थित रक्तसञ्चार केन्द्रमा रक्त अभाव हुन नदिन वृहत् रक्तदान कार्यक्रम आयोजना गरेर समाजमा सकारात्मक सन्देश दिएको थियो। यस कार्यक्रममार्फत युवाहरूको सहभागिता रहँदा अत्यावश्यक समयमा प्रयोग हुने पर्याप्त रगत संकलन भयो, जसले जीवन रक्षाको पक्षमा महत्वपूर्ण योगदान पुर्यायो।
त्यस्तै, रथ यात्रापछि महाभण्डारामा बाँकी रहेका चन्दा स्वरूप प्राप्त खाद्य सामग्रीहरूलाई नष्ट नगरी सामाजिक संस्थाहरूसम्म पुर्याउने कार्य समितिले उदाहरणीय रूपमा सम्पन्न गरेको छ। मानव सेवा आश्रम र ‘आमा छात्रावास’लाई ती सामग्रीहरू हस्तान्तरण गर्दै समितिले धार्मिक परम्परालाई समाजसेवामूलक अभियानसँग जोडेको छ।
समितिको यस कार्यले “धर्म केवल पूजा नभई सेवा पनि हो” भन्ने सन्देश फैलाएको छ। समाजमा सहयोग र सहकार्यको भावना बढाउन यस्ता कार्यहरू प्रेरणादायी भएको स्थानीय नागरिकहरूको प्रतिक्रिया छ।
समितिले आगामी दिनहरूमा पनि यस्ता सकारात्मक सामाजिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै समावेशी र मानवमुखी पहलमार्फत रथ यात्राको भावनात्मक गहिराइलाई अझ मजबुत बनाउने संकेत दिएको छ।






