वीरगञ्ज । वर्षौँदेखि कानुनी झमेलामा अल्झिएको वीरगञ्जको २५ मिटर सडक विस्तार योजना आजदेखि सञ्चालनमा आएको छ। सर्वोच्च अदालतको आदेशपछि वीरगञ्ज महानगरपालिकाले मेनरोड क्षेत्रमा डोजर लगाएर अतिक्रमण हटाउने काम सुरु गरेको हो।
नगरप्रमुख राजेशमान सिंहको नेतृत्वमा सुरु गरिएको यो अभियान अन्तर्गत भन्सार क्षेत्रदेखि गण्डक चोकसम्मको सडकलाई २५ मिटर चौडा बनाउने लक्ष्य राखिएको छ।
सिंहले बताएअनुसार, सर्वोच्च अदालतले अनुमति दिएपछि घरधनीहरूलाई ३० दिने सूचना दिइएको थियो। सूचना अवधि समाप्त भएसँगै सोमबारदेखि डोजरसहितको टोली सक्रिय भएको हो।
“अब कानुनी रूपमा कुनै बाधा छैन। हामीले आजबाट सडक विस्तारको काम विधिवत् रूपमा थालेका छौं,” नगरप्रमुख सिंहले भने, “यो योजना वीरगञ्जलाई व्यवस्थित, सुरक्षित र भविष्यमुखी शहरमा रूपान्तरण गर्न अत्यन्त आवश्यक छ।”
सडक विस्तारका लागि महानगरले अवैध संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ। यसले वीरगञ्जको सडकमा बढ्दो ट्राफिक दबाबलाई घटाउने, पैदल यात्रु र सवारी चालक दुबैको आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ।
यद्यपि स्थानीय तहमा केही असन्तुष्टि पनि देखिएको छ, तर अधिकांश नागरिकले सडक विस्तारलाई स्वागत गरेका छन्। स्थानीयवासी भन्छन्, “थोरै असहज त हुन्छ, तर दीर्घकालीन फाइदाका लागि यो योजना अत्यावश्यक छ।”
सडक विस्तारसँगै वीरगञ्जको मुहार फेरिने आशा गरिएको छ — एक आधुनिक, सुरक्षित र व्यवस्थीत शहरतर्फको यात्रामा यो कदम मीलको ढुंगा सावित हुने विश्वास स्थानीयवासीले लिएका छन्।






