Categories समाचार

पर्सामा खानेपानी संकटको समाधानतर्फ ठोस पहल, सय भन्दा बढी स्थानमा डिप बोरिङ जडान

Advertisement

वीरगन्ज । लामो समयदेखि खानेपानीको गम्भीर समस्याबाट पीडित पर्सावासीले अब राहत महसुस गर्न थालेका छन्। संघीय सांसद तथा खानेपानी मन्त्री प्रदीप यादवको विशेष पहलमा वीरगन्ज महानगरपालिकासहित पर्साका विभिन्न क्षेत्रमा डिप बोरिङमार्फत पानी आपूर्ति सुरु गरिएको छ।

गर्मी याममा पानीका परम्परागत स्रोतहरू सुकेपछि पर्साका धेरै बस्तीमा पिउने पानीको अभावले जनजीवन कष्टकर बनेको थियो। तर मन्त्री यादवको निर्देशनमा पानीको मुहान सुक्न थालेका स्थानहरूमा डिप बोरिङ जडान गरी पाइपलाइनमार्फत घर–घरमा खानेपानी पुर्‍याउने कार्य तीव्र गतिमा अघि बढाइएको छ।

Advertisement

मन्त्री यादवले यस वर्ष मात्रै पर्सा जिल्लाका एक सयभन्दा बढी स्थानमा डिप बोरिङ जडान गर्ने लक्ष्यसहित कार्य अघि बढाइएको जानकारी दिए। उहाँका अनुसार, यो अभियानले आउँदो वर्षदेखि गर्मीयाममा पनि पिउने पानीको अभाव हुन नदिनेछ।

Advertisement

खानेपानी मन्त्रीका स्वकीय सचिव हरिन्द्र साहका अनुसार, वीरगन्ज महानगरपालिकाको घडिअर्वा, छपकैया, नगवा, गहवा, लक्ष्मणवा, मनियारी लगायतका क्षेत्रमा डिप बोरिङको काम तीव्र गतिमा सम्पन्न हुँदैछ।

यस अभियानले स्थानीयवासीमा आशा जगाएको छ। छपकैया घुसुकपुर निवासी सकिना खातुन भन्छिन्, “पानीको समस्याले जीउ–ज्यानै सकसमा परेको थियो। अब मन्त्रीज्यूको सक्रियताले हामीले राहत पाएका छौं। उहाँलाई धेरै धन्यवाद।”

यस्तै, श्रीपुरका चन्द्रिका प्रसादले चापाकल सुकेर पानी पाउन कठिन भएको तर अब बोरिङबाट सहजै पानी आउन थालेपछि राहत महसुस भएको बताए। वीरगन्ज–१६ का अमिन मियाँले पनि बस्तीमा पहिले पानीका लागि हाहाकार मच्चिएको स्मरण गर्दै अहिले सबैजना खुसी भएको बताए।

खानेपानी संस्थान वीरगन्जका प्रमुख विपुल दासका अनुसार, असार मसान्तसम्म १ सय स्थानमा डिप बोरिङ जडान गर्ने लक्ष्य लिइएको छ। “प्रत्येक डिप बोरिङबाट कम्तीमा ५० देखि ८० घरमा पानी आपूर्ति गरिनेछ,” उनले बताए।

साथै, बोरिङसँगै २ हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माण र पाइपलाइन जडानको काम पनि तीव्र गतिमा सम्पन्न हुँदैछ। प्रमुख दासले पर्साका कुनै पनि बासिन्दाले अब पिउने पानीको अभाव भोग्न नपरोस् भन्ने उद्देश्यसहित संस्थानले काम गरिरहेको बताए।

यस अभियानमार्फत पर्सा जिल्लामा दीर्घकालीन रूपमा खानेपानी संकट समाधानको दिशामा ठोस आधार तयार भएको स्थानीयवासीको प्रतिक्रिया छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *