वीरगञ्ज । पर्सा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरी उनीहरूकै साथबाट स्रोत नखुलेको रु. २८ लाख २८ हजार नगद रकम बरामद गरेको छ। असार १७ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका क्षेत्रका विभिन्न स्थानमा छापा मार्दै रकमसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालका अनुसार पक्राउ परेकाहरूले नगद रकम विभिन्न स्थानमा लुकाएर बोकेको अवस्थामा फेला परेका थिए। उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) अनुसार “हुण्डी कारोबार गर्न नहुने” कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ।
प्रहरीले वीरगञ्जको मकालु चोक, लिंकरोड र रजत जयन्ती चोक क्षेत्रबाट उक्त रकम र संलग्न तीन जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूमाथि पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान सुरु गरिएको हो।
पक्राउ परेका व्यक्तिहरूको विवरण यस्ता छन्:
पकाहा मैनपुर गाउँपालिका–२ निवासी अनिल कुमार बर्णवाल वीरगञ्ज–१० स्थित मकालु चोकबाट पक्राउ परेका हुन्। प्रहरीले उनको साथबाट रु. ९ लाख ४७ हजार नगद बरामद गरेको छ, जुन कालो झोलामा लुकाइएको अवस्थामा फेला परेको थियो।
वीरगञ्ज–३ आदर्शटोल बस्ने बिनित कुमार श्रीवास्तव कृषि विकास बैंक नजिकै लिंकरोड, वीरगञ्ज–८ बाट पक्राउ परेका हुन्। प्रहरीले उनको साथबाट रु. १५ लाख ८१ हजार नगद बरामद गरेको छ, जुन कालो झोलाभित्र राखिएको अवस्थामा फेला परेको हो।
त्यसैगरी परवानीपुर गाउँपालिका–४ बस्ने दिपक कुमार सोनार वीरगञ्ज–१६ को रजत जयन्ती चोकबाट पक्राउ परेका हुन्। ना.१६ प २३२८ नम्बरको सुपर स्प्लेंडर मोटरसाइकलमा सवार उनीसँग रु. ३ लाख नगद पाइन्टको खल्तीबाट बरामद गरिएको हो।
प्रहरीले तीनै जनालाई कार्यालयमा ल्याई कागजी प्रक्रिया पूरा गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रवक्ता लम्सालका अनुसार यस्तो खालको अवैध हुण्डी कारोबारले आर्थिक पारदर्शिता र बैंकिङ प्रणालीमा प्रतिकूल असर पार्ने भएकाले यस्ता गतिविधि नियन्त्रणका लागि प्रहरी सतर्क रहेको छ। अवैध वित्तीय कारोबारविरुद्ध निगरानी र छापा कारबाहीलाई अझ कडा बनाइने जानकारी पनि प्रहरीले दिएको छ।






