वीरगञ्ज । पर्सा जिल्लामा मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको अभियोगमा एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बारा कलैया उप-महानगरपालिका वडा नं. १२ बस्ने वर्ष २९ का पवन कुमार साहलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार भारतबाट नेपाल आएका दुई जना युवतीलाई विभिन्न प्रलोभन देखाई वीरगञ्जका होटल तथा लजहरूमा जबर्जस्ती बेश्यावृत्तिमा लगाइएको भन्ने सूचनाका आधारमा प्रहरीले विशेष कारबाही सञ्चालन गरेको थियो।
सो क्रममा पीडित युवतीहरूलाई सकुशल उद्दार गरिनुका साथै उनीहरूलाई बेश्यावृत्तिमा बाध्य बनाउने मुख्य व्यक्ति साहलाई नियन्त्रणमा लिइएको हो।
उद्दार गरिएका युवतीहरूलाई खाना खुवाउने तथा पैसा दिने प्रलोभन देखाई यौन शोषण गरिँदै आएको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न साहविरुद्ध मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अगाडि बढाएको छ।
घटनाबारे जानकारी गराउँदै प्रहरी नायब उपरीक्षक तथा पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले पीडितहरूलाई आवश्यक संरक्षणको व्यवस्था मिलाइएको र घटनाका थप विवरण संकलन भइरहेको जानकारी दिए।






