— अधिकांश नागरिकले महानगर र प्रमुख सिंहको निर्णयको स्वागत
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले मुख्य सडकको अतिक्रमण हटाउने अभियान तीव्र रुपमा अगाडि बढाएको छ। अभियानको सुरुवातसँगै केही विरोधका स्वरहरू उठेका छन्, संघर्ष समिति गठन गरेर आन्दोलन गर्ने प्रयाससमेत भएका छन्।
तर यता अधिकांश स्थानीय नागरिकहरूले महानगरको यो कदमको खुलेर समर्थन गरेका छन् र नगरप्रमुख राजेशमान सिंहको साहसको प्रशंसा गरेका छन्।
अभियानप्रति उठेको विरोधलाई लक्षित गर्दै नगरप्रमुख सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले सामाजिक सञ्जालमार्फत स्पष्ट सन्देश दिएका छन्। उनले लेखेका छन्,
“कुरालाई जति घुमाए पनि, जसरी घुमाए पनि लाख कुराको एउटै कुरा हो — ‘सरकारी’ अतिक्रमित जग्गा छोड्नुपर्छ।
चाहे त्यो त्रिभुवन राजपथको होस्, रामबन ३२ नम्बरको होस्, ठोरीको होस् वा ललिता निवासको। जहाँ अतिक्रमण भएको छ, त्यहाँको सरकारले खाली गराउँछ। आवश्यकता अनुसार दण्ड जरिवाना पनि गर्छ। भावनात्मक कुराको अर्थ छैन।”
यो टिप्पणीसँगै उनले संकेत गरेका छन् कि भावनात्मक अपिल र कृत्रिम आन्दोलनले सरकारको कानुनी कर्तव्यलाई रोक्न सक्दैन।
डोजर सञ्चालनपछि देखिएको तत्कालीन विरोधको बाबजुद, वीरगञ्जवासीको ठूलो संख्याले भने सडक विस्तारलाई ऐतिहासिक कदम भनेका छन्। उनीहरूका अनुसार वर्षौँदेखि अल्झिएको कानुनी झमेलालाई समाधान गर्दै महानगरले विकासको स्पष्ट मार्ग खोलेको छ।
महानगरका अनुसार अभियान सर्वोच्च अदालतको आदेश तथा पूर्व सूचना अनुसार सुरु गरिएको हो, र अतिक्रमणमुक्त बनाउँदै शहरलाई व्यवस्थित र दिगो विकासतर्फ उन्मुख बनाउने उद्देश्य रहेको छ।
महानगर प्रमुख सिंहले यसअघि नै सार्वजनिक रूपमा भनेका थिए, “कानुन र जनहितविरुद्ध कुनै दबाबलाई मान्दिनँ। शहर विकासमा बाधा हुने जुनसुकै अतिक्रमण हटाइनेछ।”






