वीरगञ्ज । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA), वीरगञ्ज इकाईको आगामी निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार सौरभ वर्णवाल नेतृत्वको प्यानलले पारदर्शिता, जवाफदेहिता र संस्थागत सभ्यताको मुख्य एजेन्डा अघि सार्दै चुनावी अभियान तिव्र बनाएको छ।
संस्थामा विगतमा देखिएको अपारदर्शी गतिविधि, हिसाब–किताबको अभाव, र संस्थाको नाममा गरिएको आर्थिक दुरुपयोगका विरुद्धमा स्पष्ट र निडर आवाज उठाउँदै उनले आफुलाई संस्थाको हितमा समर्पित उम्मेदवारको रूपमा प्रस्तुत गरेको बताएका छन् ।
वर्णवालको प्रचार पोस्टरमा उल्लेख गरिएको छ —
“जसले संस्थाको पैसा खायो, जसले हिसाब दिन सकेन, आज पनि त्यही मान्छेलाई समर्थन गर्ने? के हामी यति कमजोर भइसकेका छौँ?”
उनले मतदातालाई सम्बोधन गर्दै भनेका छन्, “म चाहन्छु सत्यको पक्षमा उभिन, संस्था बचाउन, र सबै सदस्यका हक अधिकारको रेखदेख होस्। म डराउने छैन, म भाग्ने छैन, म हिम्मत गरेर चुनाव लड्नेछु।”
वर्णवालले आफ्नो उम्मेदवारी नारा होइन, नियत र निष्ठाका आधारमा प्रस्तुत गरेको बताउँदै मतदाताहरूलाई भनेका छन् — “हामीलाई एउटा मौका दिनुहोस्।”
उनको टिम युवा, ऊर्जावान र निष्पक्ष छवि भएका सदस्यहरू मिलेर बनेको छ। टिमले संस्थामा पारदर्शी लेखाप्रणाली, जवाफदेही नेतृत्व र सदस्यहरूको अभिवृद्धिमा केन्द्रित कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाएको छ।
प्रचार अभियानसँगै वीरगञ्ज इकाईका विभिन्न सदस्य, शुभचिन्तक र समर्थकहरूले वर्णवाल टिमलाई समर्थन जनाउँदै भारी मतसहित विजयी गराउन आह्वान गरेका छन्। “सत्य जित्छ, संस्था बच्छ” भन्ने नारा टिमको मूल सन्देश बनेको छ।






