वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेजले आफ्नो २५औँ स्थापना दिवस (रजत जयन्ती)को अवसरमा एक भव्य समारोहको आयोजना गर्दै विभिन्न विद्यालय तथा कलेजमा कार्यरत शिक्षक-शिक्षिकालाई विशेष सम्मान प्रदान गरेको छ।
कलेजको नयाँ भवनस्थित सभाहलमा आयोजित उक्त समारोह शैक्षिक वातावरण सुदृढ गर्ने उद्देश्यसहित प्रेरणादायी रूपमा सम्पन्न भएको हो।
समारोहका प्रमुख अतिथि ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख रञ्जित यादव थिए भने कार्यक्रमको संयोजन कलेजका को–अर्डिनेटर बासु कर्णले गरेका थिए।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा शिक्षाविद् डा. दीपक शाक्य, नन्दन यादव, हरी तुलाधार, समाजसेवी इमामुद्दिन अहमद, प्याब्सन केन्द्रीय सदस्य छेडुप लामा, पर्सा प्याब्सन अध्यक्ष सरोज चौधरी, एन–प्याब्सन पर्सा अध्यक्ष राम श्रेष्ठ, सञ्चारकर्मी तथा विभिन्न विद्यालयका प्रतिनिधिहरूको उपस्थिति उल्लेखनीय रह्यो।
वि.सं. २०५७ सालमा वीरगञ्ज कन्या स्कुलबाट जम्मा १ सय १३ जना विद्यार्थी लिएर प्रारम्भ भएको वीरगञ्ज पब्लिक कलेजले हालसम्मको २५ वर्षको यात्रामा शैक्षिक उत्कृष्टता, नैतिक मूल्य र सामाजिक योगदानका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै आएको छ।
कार्यक्रममा वक्ताहरूले कलेजको गुणस्तरीय शिक्षा र निरन्तर प्रगतिप्रति उच्च प्रशंसा व्यक्त गरे। साथै, शिक्षकमाथिको सम्मानलाई कलेजको दूरदर्शी सोचको प्रतिबिम्ब भन्दै आगामी दिनमा शिक्षाको गुणस्तर अझ सुदृढ गर्दै लैजाने अपेक्षा व्यक्त गरे।
रजत जयन्ती समारोहले वीरगञ्ज पब्लिक कलेजको इतिहासलाई मात्र होइन, समग्र शैक्षिक क्षेत्रलाई उत्साह र प्रेरणा दिने किसिमले नयाँ ऊर्जा थपेको सहभागीहरूको भनाइ रहेको छ।






