वीरगञ्ज । मुस्लिम समुदायको प्रमुख धार्मिक पर्व ताजिया (दाहा) आगामी असार २२ गते आइतबार सम्पन्न हुँदैछ। विगतमा हनुमान जयन्तीका अवसरमा देखिएको तनावपूर्ण अवस्थाबाट पाठ लिँदै यस वर्ष ताजिया पर्वलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन वीरगञ्ज महानगरपालिका र सुरक्षा निकायहरू जुटेका छन्।
यसै उद्देश्यले वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बिहीबार संयुक्त बैठक सम्पन्न भएको छ। बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, अनुसन्धान विभाग पर्साका प्रमुख सन्तोष ढुङ्गेल तथा मुस्लिम समुदायका अगुवाहरूको सक्रिय उपस्थिति रहेको थियो।
बैठकले पर्वको व्यवस्थापन र सुरक्षा सुनिश्चित गर्न विभिन्न निर्णयहरू पारित गरेको छ। विशेषगरी, वीरगञ्जका विभिन्न वडाबाट निकालिने ताजिया जुलुसहरूलाई घण्टाघरमा केन्द्रित गर्ने व्यवस्था मिलाइनेछ। प्रत्येक वडाबाट निस्कने जुलुस संयोजित बनाउन संयोजन समिति गठन गरिनेछ र यससम्बन्धी विवरण असार २० गतेभित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउनु पर्ने छ।
साथै, जुलुसमा शान्तिपूर्ण वातावरण कायम राख्न हातहतियार, डिजे साउण्ड तथा बालबालिकाको सहभागिता पूर्ण रूपमा निषेध गरिने निर्णय गरिएको छ। स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै कुनै पनि हानिकारक क्रियाकलापलाई निषेध गरिएको छ।
पर्वको निगरानी र व्यवस्थापनका लागि नगर प्रमुख राजेशमान सिंहको संयोजकत्वमा मुस्लिम समुदायका प्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरू सम्मिलित एक अनुगमन समिति गठन गरिने भएको छ। कार्यक्रममा सम्पूर्ण सुरक्षा व्यवस्थापनको जिम्मेवारी स्थानीय प्रहरी प्रशासनले लिनेछ।
नगर प्रमुख सिंहले धार्मिक सहिष्णुता र समुदायबीचको सद्भावलाई बलियो बनाउने उद्देश्यले सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताए। उनले भने, “हामी सबैको साझा प्रयासले वीरगञ्जलाई धार्मिक सद्भावको नमुना सहर बनाउनेछ। ताजिया पर्वलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गर्न हामी पूर्ण प्रतिबद्ध छौँ।”
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विगतका घटनाबाट सिकेर सुरक्षा तयारीलाई थप सुदृढ बनाइएको उल्लेख गर्दै सम्भावित जोखिमको मूल्याङ्कन गरी सम्पूर्ण सुरक्षा निकायहरू अलर्ट अवस्थामा रहेको जानकारी दिए।
मुस्लिम समुदायका अगुवाहरूले पर्वलाई मर्यादित रूपमा सम्पन्न गर्न पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन्। स्थानीय सरकार र सुरक्षा निकायको पहललाई उनीहरूले सकारात्मक रूपमा लिएका छन्।




