वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सुरु गरेको मुख्य सडक विस्तार अन्तर्गत डोजर लगाएर संरचना हटाउने कार्यको विरोधमा आज शुक्रबार बिहान बजार बन्द गरिने भएको छ।
वीरगञ्ज बचाउ संघर्ष समिति र वीरगञ्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिको बिहीबार राणीसती धर्मशालामा बसेको संयुक्त बैठकले शुक्रबार बिहानदेखि ११ बजेसम्म वीरगञ्ज बजार बन्द गरिने निर्णय गरेको हो।
साथै विरोधस्वरूप मुख्य सडकछेउका सम्पूर्ण घरहरूमा कालो झण्डा राखिने बताइएको छ।
संघर्ष समितिका अध्यक्ष जवाहर गुप्ताका अनुसार, वीरगञ्ज महानगरपालिकाले बिना पूर्वसूचना र अधिकार क्षेत्र बाहिर गएर घरटहरा भत्काउन थालेको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन्।
यसअघि मंगलबार पीडित समूहले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउँदै डोजर अभियान तत्काल रोक्न माग गरेका थिए।
तर, महानगरपालिकाले भने सर्वोच्च अदालतको आदेशअनुसार सोमबारदेखि भन्सार क्षेत्रबाट मितेरी पुलतर्फ सडक विस्तार कार्य थालिएको जानकारी दिएको छ।




