Categories समाचार

वीरगञ्जमा बृहत वृक्षारोपण सम्पन्न, मेयर सिंहले दिए संरक्षणमा जोड

Advertisement

वीरगञ्ज । पर्यावरण संरक्षण, हरियाली प्रवर्द्धन र जलवायु सन्तुलन कायम राख्ने उद्देश्यले वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित रजत जयन्ती चोकमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।

शुक्रबार बिहान ७:३० बजे आयोजित उक्त कार्यक्रम वीरगञ्ज महानगरपालिकाको कार्यालय, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति (भरतपुर, चितवन) तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंह रहेका थिए। उनले वृक्षारोपणको शुभारम्भ गर्दै वातावरणीय सन्तुलनका लागि वृक्षारोपण मात्र पर्याप्त नभई त्यसको संरक्षण र हेरचाह समेत आवश्यक हुनेमा जोड दिए।

Advertisement

“बिरुवा रोपेर मात्रै हाम्रो दायित्व पूरा हुँदैन, त्यसको नियमित सिँचाइ, हेरचाह र संरक्षण गर्न सकेमा मात्र हाम्रो प्रयास सफल हुन्छ,” मेयर सिंहले भने, “हरेक बिरुवा एउटा भविष्यको वन हो भन्ने सोचका साथ सबैले आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ।”

उनका अनुसार, महानगरपालिकाले वृक्षारोपण कार्यक्रमलाई मात्रै सीमित नराखी त्यसपछि आवश्यक निगरानी, संरक्षण र अभिवृद्धिका लागि पनि कार्ययोजना तयार गरेको छ।

कार्यक्रमका विशिष्ट अतिथि सशस्त्र प्रहरी बल पर्साका प्रमुख अधिकारी थिए। उनले सुरक्षा निकाय मात्र नभई सबै क्षेत्रको सहभागितामा वातावरणीय अभियानहरू प्रभावकारी हुने बताए।

वृक्षारोपण कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, प्रहरी प्रशासन, सामाजिक संघसंस्था, वातावरण प्रेमी नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले विभिन्न जातका फलफूल तथा छायाँ दिने बिरुवाहरू रोपेका थिए।

कार्यक्रम समापनमा आयोजक संस्थाहरूले सहभागी सबैलाई आभार प्रकट गर्दै यस्ता अभियानहरूलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *