वीरगञ्ज । नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिकालाई दुई थान पिकअप गाडी प्रदान गरेका छन् ।
मन्त्री यादवको सहयोगमा प्राप्त ती गाडीहरूलाई वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले आज विधिवत् रूपमा पूजापाठ गरी नगर कार्यालयमा भित्र्याएका हुन् ।
गाडीको स्वागत समारोहमा प्रमुख सिंहले मन्त्री यादवप्रति आभार व्यक्त गर्दै महानगरको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन यी सवारी साधनहरू उपयोगी हुने विश्वास व्यक्त गरे ।
उनले वीरगञ्जको विकास र नागरिक सेवामा यस प्रकारका सहयोगले ठुलो टेवा पुग्ने भन्दै संघीय सरकारसँग सहकार्यलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाए ।
यस अवसरमा महानगरका पदाधिकारी, कर्मचारी समेतको उपस्थिति रहेको थियो ।






