Categories Uncategorized

वीरगंजमा मोहर्रम विवाद, प्रमुख जिल्ला अधिकारीको निर्णयप्रति सर्वदलीय आपत्ति

Advertisement

वीरगंज । मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व मोहर्रम मनाउने स्थानको विषयलाई लिएर वीरगंजमा सामाजिक सद्भाव खलबलिने अवस्था सिर्जना भएको छ। पटक–पटक फरक–फरक निर्देशन जारी गर्दै स्थान परिवर्तन गर्ने प्रशासनको रवैयाले समुदायबीच अन्यौल मात्र होइन, अविश्वासको वातावरण समेत सिर्जना भएको सरोकारवालाहरूको भनाइ छ।

असार १९ गते वीरगंज महानगरपालिकामा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको उपस्थितिमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू सहित बसेको बैठकले मोहर्रमको कार्यक्रम विगतका वर्षझैँ यसपटक पनि पुरानो बसपार्कमै आयोजना गर्ने निर्णय गरेको थियो। तर, भोलिपल्ट जिल्ला प्रशासन कार्यालयले सुरक्षा चुनौती देखाउँदै उक्त निर्णय विपरीत आदर्शनगर रंगशालामा कार्यक्रम गर्न पत्र काटेपछि विवाद चुलिएको हो।

Advertisement

प्रशासनको पछिल्लो पत्रले कार्यक्रम स्थलको विषयमा अन्यौलता उत्पन्न गराएको छ। अब कार्यक्रम कहाँ हुने भन्ने विषयमा मुस्लिम समुदाय मात्र होइन, हिन्दु समुदायमा समेत चासो र चिन्ता उत्पन्न भएको छ।

यस परिस्थितिमा विभिन्न राजनीतिक दलहरू, स्थानीय निकाय प्रतिनिधिहरू तथा सरोकारवालाहरूको सहभागितामा आज सम्पन्न सर्वदलीय बैठकले पुरानै बसपार्कमा मोहर्रमको कार्यक्रम यथावत् राख्न स्थानीय प्रशासनसँग आग्रह गर्ने निर्णय गरेको छ। बैठकले मोहर्रम पर्व ऐतिहासिक रूपमा त्यसै स्थानमा शान्तिपूर्ण र सभ्य तरिकाले हुँदै आएको स्मरण गराउँदै, त्यस स्थानमा कार्यक्रम गर्न कुनै अवरोध नभएको स्पष्ट पारेको छ।

बैठकमा सहभागी नेताहरूले रंगशाला खेलकुद प्रयोजनको लागि तोकिएको स्थान भएकोले धार्मिक कार्यक्रम त्यहाँ नगर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले धार्मिक परम्परा, सामाजिक सहिष्णुता र समुदायबीचको समझदारी कायम राख्न पुरानो बसपार्कमै कार्यक्रम हुनु आवश्यक रहेको बताएका छन्।

सर्वदलीय बैठक वीरगंज महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा सहभागी नेताहरूमा नेपाली कांग्रेसका जिल्ला सचिव एवं महानगर उपप्रमुख इम्तियाज आलम, कांग्रेस महानगर सभापति मणिन्द्रलाल नेपाली, नेकपा (एस) का बालगोपाल थापा, मनोज चौधरी, वृजलाल पासवान, नेकपा (एमाले) का जिल्ला सचिव महेश दास, महानगर उपाध्यक्ष रामकिशोर सिंह (पराग), नेकपा (माओवादी केन्द्र) का अध्यक्ष विजय महतो, जनता समाजवादी पार्टीका नगर अध्यक्ष इश्वरचन्द्र यादव, जनमत पार्टीका नगर अध्यक्ष महादेव शर्मा, राप्रपाका जिल्ला सचिव पन्नालाल पटेललगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकले मोहर्रम पर्व शान्तिपूर्ण, मर्यादित र सफल रूपमा सम्पन्न गर्न सबै पक्ष संयमित रहनु पर्ने, समुदायबीच संवाद र समझदारी कायम गर्नुपर्ने र प्रशासनले सुरक्षा व्यवस्थामा पूर्ण सहयोग गर्नुपर्नेमा एकमत प्रकट गरेको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *