Categories समाचार

वीरगञ्जमा विमेन्स क्रिएशनद्वारा २१ औँ समर प्रदर्शनी सम्पन्न

Advertisement

वीरगञ्ज । महिला सशक्तिकरण, नयाँ व्यवसायिक सोचको प्रवर्द्धन तथा सांस्कृतिक पर्वलाई लक्षित गरी विमेन्स क्रिएशनद्वारा आयोजित २१ औँ समर एक्जिबिसन (21st Summer Exhibition) वीरगञ्जको होटल दियालोमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले गर्नुभएको हो।

विभिन्न क्षेत्र, विधा र व्यवसायिक सम्भावनालाई समेट्दै आयोजना गरिएको कार्यक्रममा कूल ५० वटा स्टल राखिएको थियो भने १ हजार भन्दा बढी दर्शकहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ।

Advertisement

प्रदर्शनीमा महिला श्रृंगार सामग्री, पूजा सामग्री, महिलाका पहिरन, साजसज्जाका सामग्री, परिकार, कस्मेटिक्स र आभूषणसहित विभिन्न सामग्रीको प्रदर्शनी तथा विक्री गरिएको थियो।

विमेन्स क्रिएशनकी अध्यक्ष अञ्जु रुङ्टाले प्रदर्शनीको उद्देश्य महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्दै उनीहरूलाई आत्मनिर्भर बनाउने रहेको बताउनुभयो। उहाँका अनुसार कृष्णजन्माष्टमी, रक्षा बन्धन र मारवाडी समुदायको सिन्धारा पर्वलाई लक्षित गरी प्रदर्शनी आयोजना गरिएको हो।

नेपालका काठमाडौं, नारायणगढ, सिरहा तथा वीरगञ्जसहित भारतको मुजफ्फरपुर, बेतिया, कोलकातालगायत सीमावर्ती क्षेत्रबाट समेत सहभागिता जनाइएको प्रदर्शनीमा महिला उद्यमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

आयोजक संस्थाकी सदस्य अपर्णा पटवारीका अनुसार, प्रदर्शनी व्यवसायिक उद्देश्यमा मात्र सीमित नरही, स्थान अभावका कारण व्यवसाय गर्न नसकिरहेका महिलाहरुलाई निःशुल्क स्टल उपलब्ध गराई सहयोग गरिएको हो।

समारोहमा प्रमुख अतिथि नगरप्रमुख सिंहसहित वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, सशस्त्र प्रहरी बल (एपीएफ) का एसपी राधेश्याम, जिल्ला प्रहरी कार्यालय पर्सा प्रमुख गौतम मिश्रलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको विमेन्स क्रिएशनकी सदस्य नूतन सरावगीले जानकारी दिनुभयो।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *