पर्सा । पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने पटेर्वासुगौली गाउँपालिका–१ मा हरेक वर्ष आयोजना हुने भाथाधाम मेलाको प्रचारप्रसारका लागि पत्रकारहरूको समिति गठन गरिएको छ।
शनिबार सञ्चारकर्मी शम्भु महतो थारूको संयोजकत्वमा समिति गठन गरिएको हो। श्री श्री १०८ बाबा दुधेश्वरनाथ भाथाधाम मेला यही असार २७ गतेदेखि सुरु हुने भएकाले मेला सम्बन्धी जानकारी जिल्ला, देश तथा विदेशसम्म फैलाउन समिति गठन गरिएको संयोजक थारूले जानकारी दिए।
उनको संयोजकत्वमा बनेको समितिमा राजेन्द्र सिंह राजपुत, कृष्णा कुशवाहा, पनालाल साह, राजन सिंह, शैलेश गुप्ता, बलिराम यादव, पुनम चौधरी, एन्जल चौधरी लगायतलाई सदस्य बनाइएको छ।
मंगलबार समिति थप विस्तार गरिने पत्रकार राजेन्द्र सिंह राजपुतले जानकारी दिएका छन्।
विगत वर्षहरूमा भारतबाट आउने भक्तजनहरूलाई विभिन्न समस्याहरू भएको अनुभवलाई मध्यनजर गर्दै यस वर्ष समिति प्रारम्भदेखि नै सक्रिय बनेको छ। समितिका सम्पूर्ण सदस्यहरू आ–आफ्नो क्षेत्रबाट मेला प्रचारप्रसारमा जुट्ने प्रतिबद्धता जाहेर गरिएको छ।
यसैबीच, असार २९ गते आइतबार भाथाधामको अवलोकन गर्ने निर्णयसमेत समितिको सर्वसम्मतिबाट पारित भएको संयोजक थारूले बताए।






