Categories समाचार

बोरिङमार्फत पानी तान्ने निजी मोटर हटाउने अभियान सुरु

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिका भित्र पानीको पहुँच सबै नागरिकसम्म सुनिश्चित गर्ने प्राथमिकतासहित जडान गरिएको डिप बोरिङमार्फत वितरण हुने पानीमा विभिन्न स्थानमा अवैधानिक रूपमा मोटर जडान गरेर तानिने लाइन आजदेखि काट्न थालिएको छ।

विभिन्न वडामा पानी वितरणका लागि महानगरले खनेको डिप बोरिङको पाइपमा केही व्यक्तिले जबर्जस्ती मोटर जडान गरी अत्यधिक मात्रामा पानी तान्दा अन्य सर्वसाधारणले पानी नपाउने अवस्था सिर्जना भएको थियो।

Advertisement

महानगरले पानीको समुचित वितरण र न्यायक तरिकाले सबैको पहुँच सुनिश्चित गर्न अवैध मोटर जडान फुकाल्ने र लाइन काट्ने अभियान थालेको हो।

Advertisement

कतिपय वडाध्यक्षले न अनुगमन गरे, न समस्या समाधानतर्फ चासो देखाए। परिणामतः पानीजस्तो अत्यावश्यक सेवामा पनि विभेद र राजनीति हाबी भयो।

यही बेवास्तापछि महानगर आफैं मैदानमा उत्रिएको छ। ट्यांकरमार्फत पानी वितरण अभियानसँगै अब डिप बोरिङका लाइनहरूमा निगरानी बढाइने र अवैध रूपमा पानी तान्ने कार्यमा संलग्नहरूलाई कारबाही गरिने महानगरले जनाएको छ।

महानगरका शाखा प्रमुख राकेश साहका अनुसार, “पानी सबैको हो। कसैले मोटर जडान गरेर मात्र आफ्नै घर पुग्ने गरी तान्ने कार्य अब सह्य हुँदैन। यस्तो कार्य तत्काल रोक्न हामीले अभियान थालेका छौं।”

पानीको संकट गहिरिँदै गइरहेको अवस्थामा महानगरको यो कदम स्वागतयोग्य मानिएको छ। तर स्थानीयवासीले भने वडा अध्यक्षहरू अझै पनि निष्क्रिय रहेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन्।

खानेपानीजस्तो आधारभूत सेवामा समान पहुँच दिलाउन महानगरले देखाएको सक्रियता अब वडास्तरसम्म प्रभावकारी रूपमा कार्यान्वयन हुन सक्यो भने मात्रै समस्या दीर्घकालीन रूपमा समाधान हुने जनताको विश्वास छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *