वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. २४ स्थित बहुअरीमा रहेको श्री शारदा माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० का ६० जना छात्राहरुलाई नेसनल एकेडेमी क्याम्पस, वीरगञ्जले नयाँ कपडा वितरण गरेको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत बिहीबार सम्पन्न उक्त कार्यक्रम नेसनल एकेडेमी क्याम्पसका प्रमुख केदार प्रसाद साहको नेतृत्वमा सम्पन्न भएको हो। कार्यक्रममा वरिष्ठ समाजसेवी तथा अधिवक्ता प्रकाश कुमार उपाध्याय प्रमुख अतिथि रहनुभएको थियो।
विद्यालयका प्रधानाध्यापक अनिल कुमार बर्णवालको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि उपाध्यायले शिक्षा नै समृद्धिको मेरुदण्ड भएको बताउँदै यस्ता कार्यक्रमहरूले छात्राहरूको आत्मबल अभिवृद्धि गर्ने र उज्वल भविष्य निर्माणमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि शिक्षा तथा सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका आयोजकले भने, “शिक्षाको पहुँच वृद्धि र विद्यार्थीहरूलाई सशक्त बनाउन यस्ता सहयोग कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ।”
यस प्रकारको पहलले विद्यार्थीहरूमा उत्साह थप्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।






