वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–११, रानीघाटका एक नौ वर्षे बालक बजरङ्गी रौनियारको पौडी तालिमकै क्रममा डुबेर ज्यान गएको छ।
प्राप्त जानकारीअनुसार बालक लर्डस दियालो होटलको तेस्रो तल्लामा रहेको स्विमिङ पुलमा पौडी सिक्ने तालिममा सहभागी भएका थिए। तालिमको क्रममा डुबेका उनलाई तत्कालै उद्धार गरी नारायणी अस्पताल लगिएको थियो, तर उपचारको क्रममा बुधबार बेलुका उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रका अनुसार घटनाका सम्बन्धमा पौडी प्रशिक्षक र जीवन रक्षकलाई निगरानीमा राखेर अनुसन्धान अगाडि बढाइएको छ।
स्विमिङ पुल जस्तो जोखिमयुक्त स्थानमा पर्याप्त सुरक्षा र निगरानीको अभावमा भएको यस घटनाले पौडी प्रशिक्षणका क्रममा बालबालिकाको सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ।






