वीरगंज । वीरगंज महानगरपालिकामा दिनदिनै गम्भीर बन्दै गएको खानेपानी समस्याको समाधानका लागि वीरगंज महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा आज सर्वदलीय बैठक सम्पन्न भएको छ।
महानगर कार्यालयमा बसेको उक्त बैठकमा पर्सा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो।
बैठकमा सहभागी भई संघीय सरकारका खानेपानी मन्त्री तथा पर्सा–१ बाट प्रतिनिधिसभा सदस्य प्रदीप यादवले वीरगंज सहित सम्पूर्ण तराई–मधेस क्षेत्रमा बढ्दो खानेपानी संकट समाधानका लागि स्थानीय तहसँग सहकार्य गरी स्रोतको प्रभावकारी परिचालन तथा दीर्घकालीन योजना निर्माणमा सरकार निरन्तर लागिरहेको जानकारी गराए।
मन्त्री यादवले वीरगंजको पानी समस्या समाधानका लागि अविलम्ब आवश्यक कदम चालिने र दीर्घकालीन रूपमा स्थायी समाधान सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरे। उनले समस्या समाधानका लागि सबै पक्षको सहकार्य, हातेमालो र एकता अपरिहार्य रहेको उल्लेख गर्दै सबैसँग सहयोगको अपिलसमेत गरेका थिए।
नगरप्रमुख सिंहले हाल वीरगंजवासीले भोगिरहेको पानी अभावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै निकायसँग समन्वयमा रही समाधान खोज्न महानगर प्रतिबद्ध रहेको बताए।
बैठकमा उपस्थित सरोकारवाला निकायका प्रमुख तथा दलका प्रतिनिधिहरुले पनि आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।






