वीरगंज । गुरु पूर्णिमाको पावन अवसरमा साहिब दरबारले आदर्शनगर स्थित महावीर मन्दिर अगाडी आज चिसो सातु वितरण गरिएको छ । चर्को गर्मीको मध्यनजर गर्दै सार्वजनिक स्थलमा सर्वसाधारणलाई चनाको चिसो सातु वितरण गरिएको हो ।
साहिब सरकारको सम्झनामा आयोजित यो सेवामूलक कार्यक्रम साहिब दरबार वीरगंजद्वारा आयोजना गरिएको थियो । संस्थाका अध्यक्ष उमेशलाल सहनीका अनुसार, सातु वितरणमार्फत गर्मीमा आम नागरिकलाई राहत दिन र गुरु पूर्णिमाको महत्व उजागर गर्न खोजिएको हो ।
सातु वितरण कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह स्वयं उपस्थित भएर सहभागीहरूलाई सातु वितरण गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख सिंहले परम्परागत नेपाली पेय चनाको सातु गर्मीमा शरीरलाई शीतल राख्नका साथै स्वास्थ्यका दृष्टिले पनि लाभदायक हुने बताउनुभयो ।
“गर्मीमा सातुको सेवनले शरीरलाई ऊर्जा मिल्ने र निर्जलीकरण (डिहाइड्रेशन) रोक्न सहयोग पुग्छ,” प्रमुख सिंहले भन्नुभयो ।
कार्यक्रममा स्थानीय सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । साहिब दरबारले यस्ता सामाजिक तथा धार्मिक अवसरहरूमा विभिन्न सेवामूलक कार्यक्रम गर्दै आएको छ ।






