Categories समाचार

परवानीपुर–५ मा पानी संकट चुलियो: स्थानीयले खाली बाल्टिनसहित जनप्रतिनिधिको घरअगाडि गरे प्रदर्शन

Advertisement

वीरगन्ज । परवानीपुर गाउँपालिका–५ मा पानीको समस्या दिनप्रतिदिन चर्किँदै गएको छ। गाउँको दायाँ किनारामा बसोबास गर्ने स्थानीयहरू शुक्रबार उपमेयर तथा वडा अध्यक्षको घरअगाडि खाली बाल्टिन बोकेर पुग्दा दृश्य निकै संवेदनशील र प्रतीकात्मक देखिएको थियो।

स्थानीयवासीहरूका अनुसार, एउटै वडामा तीन वटा बोरिङ रहेको पाइएको छ, तर ती सबैको पहुँच एकै पक्षमा सीमित भएको गुनासो छ। अर्को भागमा बसोबास गर्ने बासिन्दाहरू भने एक थोपा पानीका लागि समेत संघर्षरत छन्। पानीजस्तो आधारभूत अधिकारमा समेत यसरी विभेद हुनु दुःखद विषय भएको स्थानीयहरूको भनाइ छ।

Advertisement

उनीहरूले पानीको दुरुपयोग तथा वितरण प्रणालीमा राजनीतिक हस्तक्षेप भएको आरोप समेत लगाएका छन्। स्थानीयहरूको तर्क छ — “पञ्चायत” वेब सिरिजमा देखाइएको राजनीति त केवल नाटक थियो, तर हाम्रो गाउँमा देखिएको राजनीति त्यसको झन भयावह यथार्थ हो।

Advertisement

स्थानीयहरू सबैभन्दा दुःखद पक्षको रूपमा उपमेयरको कार्यभारमा सहयोग गर्ने उहाँका श्रीमान् र वडा अध्यक्ष स्वयंले समस्या समाधानमा चासो नदेखाएको विषयलाई उल्लेख गरेका छन्। जब उनीहरूलाई पानीको जिम्मेवारीबारे सोधिन्छ, जवाफ आउँछ — “यो मेरो जिम्मेवारी होइन।”

“अब हामी कसलाई विश्वास गर्ने, कसलाई सुनाउने?” भनी स्थानीयहरू प्रश्न गर्छन्।

स्थानीय युवा चेतनशील भई आवाज उठाउँदा पनि सामाजिक दबाब र उपेक्षाको सामना गर्नुपर्ने अवस्था देखिएको छ। “सानो छस्, धेरै नबोल” भन्नेहरूकै भीड बाक्लिँदै गएको गुनासो उनीहरूको छ।

समस्या समाधानका लागि तत्काल संयन्त्र गठन गरी, सबै वडामा समान पहुँच हुने गरी पानी वितरणको व्यवस्था मिलाइनु पर्ने स्थानीयको माग छ। स्थानीय तह तथा सरोकारवाला निकायको चासो नपुगे यसले ठूलो सामाजिक असन्तुष्टि निम्त्याउने संकेत देखिन थालेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *