Categories समाचार

वीरगञ्ज वडा नं. ५ मा खानेपानी समस्या समाधानका लागि साझा उपभोक्ता समिति गठन

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ मा वडावासीको दीर्घकालीन खानेपानी समस्या समाधान गर्ने उद्देश्यले ‘साझा उपभोक्ता समिति–५’ गठन गरिएको छ।

वडा अध्यक्ष प्रदीप कुमार चौरसियाको अध्यक्षतामा गठन गरिएको समितिले हालै देखिएको व्यक्तिगत स्वार्थका कारण पानी आपूर्तिमा देखिएको असमानता हटाउने पहल सुरु गरेको हो।

Advertisement

वडामा घरघरमा वितरण भइरहेको डिप बोरिङको पानी केही व्यक्तिहरूले मोटर जडान गरी अत्यधिक मात्रामा तानेपछि अन्य सेवाग्राहीहरू पानीबाट वञ्चित भएको गुनासो आएको थियो।

Advertisement

यस समस्यालाई समाधान गर्न आज वडा अध्यक्ष चौरसियाको नेतृत्वमा नगर प्रहरी प्रमुख हरिप्रसाद भुसाल, साझा उपभोक्ता समिति–५ का अध्यक्ष जोगेन्द्र महतो, सदस्यहरू सन्तोष खनाल, सुशील वर्णवाल, सुमन राणा, मनोज साह, सञ्जु दहाल लगायतको टोलीले घरदैलो कार्यक्रम सञ्चालन गरेको छ।

कार्यक्रमको क्रममा स्थानीय बासिन्दालाई बोरिङको पानी तान्न मोटर जडान नगर्न जनचेतना प्रदान गरिएको छ। साथै, जथाभावी मोटर जडान गरेको पाइएमा सामाजिक दण्ड तथा जरिवाना गरिने चेतावनीसमेत दिइएको छ। केही घरहरूमा जडान गरिएका मोटर तुरुन्तै हटाइएको वडा कार्यालयले जनाएको छ।

वडा अध्यक्ष चौरसियाले “सबैलाई समानरूपमा पानी उपलब्ध गराउने हाम्रो उद्देश्य हो, यसमा कुनै व्यक्ति वा परिवारले आफ्नो स्वार्थमा काम गर्दा अन्य पीडित हुनु हुँदैन,” भन्दै सबैलाई सहयोग गर्न अपिल गरेका छन्।

यस पहलबाट वडा नम्बर ५ का सम्पूर्ण वडावासीलाई समान रूपमा स्वच्छ खानेपानी वितरण हुने विश्वास लिइएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *