Categories समाचार

मन्त्री गुप्ताद्वारा स्पष्टिकरण : तथ्यमा आधारित पत्रकारिता गर्न आग्रह

Advertisement

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पछिल्लो समय केही मिडियामा आफूलाई जोडेर आएका समाचारप्रति गम्भीर आपत्ति जनाउँदै ती समाचारहरू प्रायोजित र निराधार भएको बताएका छन्।

उनका अनुसार सरुवा, नियुक्ति लगायतका विषयमा आफूले रकम बार्गेनिङ गरेको भन्ने जस्ता आशयका समाचारहरू केही मिडियामार्फत निरन्तर सार्वजनिक भइरहेका छन्, जसले आफ्नो व्यक्तिगत प्रतिष्ठामाथि प्रश्न उठाएको छ। मन्त्री गुप्ताले भने, “यो विषय मेरो लागि अत्यन्त संवेदनशील छ, अब यस्ता आरोपहरू पुष्टि गर्न मिडियाले प्रमाण खोज्नुपर्छ।”

Advertisement

मन्त्री गुप्ताले पाँचवटा स्पष्ट प्रश्न सार्वजनिक गर्दै त्यसमा उत्तर खोज्न मिडियासँग आग्रह गरेका छन्—

Advertisement

१. सरुवा वा नियुक्तिको प्रक्रियामा संलग्न बिचौलिया वा दबाव दिने व्यक्तिहरू को हुन्?

२. सार्वजनिक गरिएका भिडियो वा फोटोहरूमा देखिएको नोटसहितको टेबल कुन कार्यालयको हो? त्यो टेबल मन्त्री गुप्ताको कार्यकक्षमा कहिल्यै नभएको उनले बताए।

३. अख्तियारलाई नोटको नम्बरसहित निवेदन गरिएको भनिएको भए पनि ती नोट कहाँ छन् र कसले दियो भन्नेबारे मन्त्रीलाई कुनै जानकारी छैन।

४. आरोप लगाइएका कर्मचारीहरूको भूमि आयोगमा नियुक्ति सम्बन्धमा आफूलाई जानकारी नरहेको र तिनलाई प्रभावमा पारिएको भनिए पनि आफू निर्दोष रहेको मन्त्रीको भनाइ छ।

५. सूचना प्रविधि (एआई) को दुरुपयोग गर्दै निकालिएको भनिएको उनको आवाजसम्बन्धी अडियोबारे मन्त्रीले स्पष्ट रूपमा अस्वीकार गर्दै भने, “यो मेरो आवाज होइन। यसको प्रमाण कसले दिन्छ?”

यसै सन्दर्भमा मन्त्री गुप्ताले राज्यको चौथो अंगका रूपमा पत्रकारिता पेशाको सधैं सम्मान गर्दै आएको स्मरण गराउँदै यस्ता गम्भीर विषयमा सत्यको खोजीमा केन्द्रित हुन सबै सञ्चारमाध्यमलाई आग्रह गरेका छन्।

उनले निष्पक्ष, प्रमाणमा आधारित र जिम्मेवार पत्रकारिता नै लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै दोषीलाई कारबाही र निर्दोषलाई संरक्षण गर्न सबैको उत्तरदायित्व रहेको बताएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *