Categories समाचार

वीरगञ्ज महानगरको प्रविधिमैत्री कदम, स्वयंसेविकालाई मोबाइल सहयोग

Advertisement

वीरगञ्ज । स्वास्थ्य सेवा प्रवाहमा डिजिटल माध्यमको उपयोग गर्दै वीरगञ्ज महानगरपालिकाले वडा स्तरमा खटिएका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई स्मार्ट मोबाइल फोन वितरण गरेको छ।

सोमबार महानगरको सभाहलमा आयोजित एक विशेष समारोहमा मेयर राजेशमान सिंहको उपस्थितिमा १६ वटा वडाका ४२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई एक/एक थान स्मार्टफोन हस्तान्तरण गरियो। महानगरका ३२ वटै वडामा खटिएका १९८ स्वयंसेविकामध्ये बाँकी १७ देखि ३२ नम्बर वडाका स्वास्थ्य स्वयंसेविकाहरूलाई आगामी एक साता भित्रमा मोबाइल वितरण गरिने जानकारी महानगरको स्वास्थ्य शाखा प्रमुख राजु साहले दिए।

Advertisement

उनका अनुसार गर्भवती महिला र नवजात शिशुका सेवाग्राहीलाई समयमै सूचित गर्ने, खोप कार्यक्रमको जानकारी दिनेदेखि लिएर खोपपश्चातको प्रतिवेदन सम्बन्धित स्वास्थ्य संस्थामा बुझाउने कार्यलाई सरल, छरितो र प्रभावकारी बनाउने उद्देश्यले यो पहल गरिएको हो।

Advertisement

कार्यक्रममा बोल्दै मेयर सिंहले न्यून पारिश्रमिक, सीमित स्रोतसाधनका बाबजुद पनि महिला स्वास्थ्य स्वयंसेविकाहरूले समुदायमा पुर्‍याएको योगदानको प्रशंसा गरे।

उनले भने, “महिला स्वास्थ्य स्वयंसेविकाहरू घर–घर पुगेर जुन सेवाको निर्वाह गरिरहेका छन्, त्यो अतुलनीय छ। संघ र प्रदेश सरकारले उनीहरूको उचित सम्मान गर्न नसकेको अवस्थामा महानगरले केही राहत दिलाउन फोन वितरण र भत्ता वृद्धि जस्ता कदम चालेको हो।”

उनले वितरण गरिएका मोबाइल फोनको दुरुपयोग नहोस् भन्ने चेतावनी दिँदै, प्राप्त उपकरणहरूलाई सेवामूलक काममै सीमित राख्न अनुरोध गरे।

स्वास्थ्य सेवा सुधारतर्फ प्रविधिको प्रयोग गर्दै स्थानीय तहले चालेको यो कदमले स्वयंसेविकाहरूको कार्यसम्पादनलाई सहज बनाउने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *