वीरगञ्ज । पछिल्लो समय देखिएको पानी अभावलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाले दैनिक करिब ४ लाख लिटर पानी वितरण गरिरहेको दाबी गरेको छ ।
पानीको आपतकालीन व्यवस्थापनका लागि ‘खानेपानी समस्या निवारण समिति’ गठन गरी पानी वितरणमा थप गति दिइएको महानगरले जनाएको छ।
महानगरले हाल हाप ट्यांकी, दमकल (वारुण यन्त्र), जेटिङ मेसिन, ट्र्याक्टरलगायत ९ वटा सवारीसाधन प्रयोग गरी प्रभावित क्षेत्रमा नियमित पानी आपूर्ति गरिरहेको छ।
साथै, जडान गरिएका १० हजार र ५ हजार लिटर क्षमताका ट्यांकीहरू विभिन्न स्थानमा राखिएको र आवश्यकताको आधारमा थप स्थानमा पनि राख्ने कार्य भइरहेको वातावरण शाखा प्रमुख एवं ट्यांकी व्यवस्थापनको जिम्मेवारी पाएका प्रकाश एरेले जानकारी दिए।
“केवल पानी वितरणमै सीमित नभई, आवश्यकता अनुसार सूचना प्राप्त हुनेबित्तिकै आपतकालीन सेवासमेत तत्काल पु¥याइन्छ,” प्रमुख एरेले बताए। उनका अनुसार २४ सै घण्टा सेवा उपलब्ध गराइएको छ।
महानगर प्रमुख राजेशमान सिंहले पानीको समस्या जटिल भए तापनि यसलाई अतिरञ्जित नबनाउन आग्रह गरेका छन्। “संकट त छ, तर यसलाई बढी नै हौवा बनाइएको छ। आत्तिनु पर्ने अवस्था छैन। वीरगञ्ज महानगर तत्तपरताका साथ लागिरहेको छ,” मेयर सिंहले स्पष्ट पारे।
आपतकालीन अवस्थालाई प्राथमिकता दिँदै प्रभावित क्षेत्रमा तत्काल पानी पुर्याउने काम भइरहेकै बेला, दीर्घकालीन समाधानका लागि समेत योजना तयार पारिएको महानगरले जनाएको छ।
“तत्कालको राहत मात्र होइन, भविष्यमा यस्ता समस्या दोहोरिन नदिन दीर्घकालीन रणनीति बनाउने दिशामा महानगर अघि बढेको छ,” वातावरण शाखा प्रमुख एरेले जानकारी दिए।
महानगरले वैकल्पिक स्रोतको पहिचान, नयाँ ट्यांकी जडान, वितरण प्रणालीको सुदृढीकरण, तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै समस्या समाधानका लागि हरेक सम्भव प्रयास गरिरहेको स्पष्ट पारेको छ।
महानगरको सक्रियता र सेवाप्रति प्रतिबद्धताले स्थानीयवासीमा केही राहत महशुस गराएको छ। पानी आपूर्ति सुनिश्चित गर्न महानगर निरन्तर प्रयासरत रहेको जनाइएको छ।






