मुम्बई । बिहारको औरंगाबादबाट हराएकी १७ वर्षीया किशोरीलाई मुम्बईस्थित मानव तस्करको जालबाट सकुशल उद्धार गरिएको छ।
सामाजिक सञ्जालमार्फत बहकाइएकी किशोरीको उद्धार ‘मिसन निर्भया’ नामक अन्तरराज्यीय अपरेशनमार्फत शुक्रबार बिहान ३ बजे नवी मुम्बईमा गरिएको हो।
किशोरी २०८२ असार ६ गतेदेखि बेपत्ता थिइन्। उनका बाबुले उपकमाण्डेन्ट सतीश गुप्तालाई जानकारी गराएपछि, मानव तस्करीविरुद्ध विशेष अनुभव भएका आसाम खुफिया शाखाका इन्स्पेक्टर मनोज कुमार शर्माको नेतृत्वमा अनुसन्धान सुरु भयो।
मोबाइल विवरण विश्लेषण गर्दा एक शंकास्पद नम्बरको सुराकीबाट मोहम्मद काजल मेहबूब मुल्ला र मोहम्मद आर. अरमान शेखको नाम सार्वजनिक भयो, जो सामाजिक सञ्जालमार्फत किशोरीलाई प्रभावित पारेर मुम्बईसम्म पुर्याउने गिरोहसँग संलग्न थिए।
साइबर विश्लेषण, फोन लोकेशन ट्र्याकिङ र लगातार निगरानीका आधारमा किशोरीको ठेगाना नवी मुम्बईको एक घरमा पत्ता लाग्यो। तत्पश्चात शुक्रबार बिहान ३ बजे विशेष अपरेशन सञ्चालन गर्दै किशोरीलाई सकुशल उद्धार गरियो।
उद्धारपछि किशोरीलाई मुम्बईस्थित महिला संरक्षण गृहमा राखिएको छ। उनलाई मनोवैज्ञानिक परामर्श दिइने व्यवस्था मिलाइएको छ। यसबीच, बिहार प्रहरीले पीडितका परिवारसहित मुम्बई पुग्ने तयारी गरिरहेको छ।
मानव तस्करीविरुद्धको यो अपरेशनमा राष्ट्रिय मानव अधिकार आयोग (नयाँ दिल्ली) का सदस्य श्री प्रियंक कानूनगो, मिशन मुक्ति फाउन्डेशनका निर्देशक श्री विरेन्द्र कुमार सिंह, प्रहरी निरीक्षक वैशाली गोरदे देओघ्रे (ठाणे कमिशनरेट), त्रिवेणी आचार्य (रेस्क्यु फाउन्डेशन), मुम्बई क्राइम ब्रान्च तथा स्थानीय प्रहरीको सक्रिय सहभागिता रहेको थियो।
यो घटनाले सामाजिक सञ्जालमार्फत किशोरीहरूलाई मानसिक रूपले प्रभावित पारेर मानव तस्करी गर्ने प्रवृत्तिको गम्भीर संकेत दिएको छ। पीडितलाई बेचबिखन वा यौन शोषणतर्फ लग्ने तयारी भएको आशंका गरिएको छ।
हाल यस गिरोहको बाँकी सञ्जाल पहिचानका लागि अनुसन्धान तीव्र पारिएको छ।






